क्रिष्टियानो रोनाल्डो पेनाल्टीमा गाेल हान्न चुकेता पनि उनकाे टिम पाेर्चुगल दाेस्राे चरणमा पुग्न सफल भएकाे छ । समुह उपविजेताकाे रूपमा पाेर्चुगल दाेस्राे चरणमा पुगेकाे हाे । उता समुह विजेता भएकाे स्पेन पनि दाेस्राे चरणमा पुगेकाे छ । भीएआर विवादले भरिएको खेल पोर्चुगलले इरानसँग १–१ को बराबरी खेलेको हो । खेलको इन्जुरी टाइममा इरानले पाएको पेनाल्टी होस् वा ८३ औं मिनेटमा रोनाल्डोको सम्भावित रातो कार्डलाई पहेंलोमा सीमित राख्ने रेफ्रीको निर्णय होस्, दुबै भीएआरबाट लिइएको थियो । खेलमा पोर्चुगलले पहिलो हाफको अन्तिम मिनेटमा रिकार्डो करिस्माको गोलबाट अग्रता लिएको थियो । दोस्रो हाफको सुरुमा नै पोर्चुगलले पेनाल्टी पायो । भीएआर रिभ्यूबाट पाएको पेनाल्टीमा रोनाल्डो गोल गर्न चुके । उनको प्रहारलाई इरानी गोलकिपर अली बेरानभान्डले रोके । खेलको ८१ औं मिनेटमा फेरि भीएआर रिभ्यू भयो । इरानी खेलाडीको अनुहारमा हात पुर्याएपछि रोनाल्डोले रातो कार्ड पाउने सम्भावना थियो । तर, लामो भीएआर रिभ्यूबाट पहेँलो मात्र दिइयो । दोस्रो हाफको अन्तिम मिनेटमा फेरि भीएआर रिभ्यूबाटै इरानलाई पेनाल्टी दिइयो । सेडरिक सोयरेसको ह्याण्डबलमा पेनाल्टी दिइएको थियो, जसमा करिम अन्सरीफार्दले गोल गरे । त्यही समयमा भएको अर्को खेलमा स्पेनले मोरक्कोसँग बराबरी खेलेको छ र स्पेन समूह बीको विजेता बन्न सफल भएको छ । पोर्चुगल भने उपविजेता बन्यो । अब नकआउट चरणमा पोर्चुगलले उरुग्वेसँग र स्पेनले आयोजक रसियासँग खेल्नु पर्नेछ ।