पानवारी / बाझगरा भलिबल कपको पुरुष तर्फको उपाधी क्विन्स गोर्खाले जितेको छ भने महिला तर्फको उपाधी बाझगरा युवा क्लबले जितेको छ ।

बाझगरा युवा क्लब धरानको आयोजनामा भएको पुरुष तर्फको भलिबल कपको उपाधी धरानको क्विन्स गोर्खा ट्रेनिङ सेन्टरले जितेको हो । क्विन्स गोर्खाले फाइनलमा झापा गाउँपालिकालाई ३–१ सेटमा पराजित गरेको हो । जेठ १४ गतेदेखि सुरु भएको प्रतियोगिताको फाइनल खेलमा क्विन्स गोर्खाले २९–२७, २७–२५, २३–२५ र २५–२२ ले आफ्नो पक्षमा पारेको थियो । उपाधि सहित गोर्खाले नगद रु ५१ हजार सहित मेडल र प्रमाण पत्र जितेको छ भने उपविजेता भएको झापा गाउँपालिकाले नगद रु ३१ हजार एकसय एघार रुपैया सहित ट्रफि र मेडल जितेको छ । त्यस्तै महिला तर्फको उपाधी मोरङ भलिबल क्लबलाई ३–० को सोझो सेटमा पराजित गरी आयोजक बाझगरा युवा क्लबले जितेको हो । आयोजक बाझगाराले मोरङ भलिबल क्लबलाई २५–१६, २५–१० र २५–१४ ले पराजित गरेको थियो ।महिला तर्फको उपाधि विजेता बाझगरा युवा क्लबलाई नगद रु १० हजार र उपविजेता मोरङलाई नगद रु ६ हजार प्रदान गरिएको थियो । प्रतियोगिताको सर्वोत्वकृष्ट खेलाडी झापाका सञ्जय बुढाथोकी घोषित हुँदै बुढाथोकीले नगद रु ३ हजार सहित मेडल पुरस्कार समेत हात पारेका थिए । त्यस्तै प्रतियोगिताको बेष्ट स्पाइकर, बेष्ट ब्लकर, बेष्ट डिफेन्स र बेष्ट लिफ्टर क्विन्स गोर्खाका खेलाडी क्रमश नविज रिजाल, सुरज चौधरी, बसन्त राई र मुस्कान लिम्बू घोषित भएका थिए भने उनीहरुलाई नगद रु २ हजार सहित मेडल प्रदान गरिएको थियो । महिला तर्फको सर्वोत्वकृष्ट खेलाडी सिमा राई घोषित भएकी थिइन् उनलाई नगद रु एक हजार सहित मेडल प्रदान गरिएको थियो । प्रतियोगिताको विजेता टिमलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद पूर्वाञ्चल क्षेत्रीय अध्यक्ष रविन नगरकोटी, आयोजक क्लबका अध्यक्ष देवराज राई र खेल संयोजक तारा लिम्बू लगायतले पुरस्कार वितरण गरेका थिए ।