पानवारी । धरानमा जिल्ला स्तरीय अन्तर विद्यालय एन्फा कप–२०७५ सुरु भएको छ ।

एन्फा सनुसरीको आयोजनामा भएको एन्फा कपको उद्घाटनप्रमुख अतिथि एन्फाका केन्द्रिय मानार्थ उपाध्यक्ष किशोर राईले गरेका थिए । एन्फाले आयोजना गरेको अन्डर सिक्सटिन नकआउट पुरुष फुटबल प्रतियोगितामा सुनसरीका विभिन्न १८ वटा स्कुलको सहभागिता रहेको छ । शनिबारदेखि धरान स्थित एन्फा एकेडेमीको खेल मैदानमा सुरु भएको प्रतियोगिताको फाइनल खेल असार २३ गते हुने आयोजक समितिका सदस्य प्रताप तामाङले जानकारी दिएका छन् ।

शनिबार भएको उद्घाटन खेलमा धरानको जेनिथ स्कुलले इटहरीको विश्व आदर्श स्कुललाई ५–० को फराकिलो गोल अन्तरले हराएको छ । त्यस्तै दोस्रो खेलमा नवज्योति स्कुल धरानले लिगामेन्ट स्कुल धरानलाई १–० गोल अन्तरले पराजित गरेको छ । विजयी दुवै टोली क्वाटर फाइनलमा प्रवेश गरेका छन् । आज आइतबार नमुना स्कुल झुम्काको विरुद्ध एसओएस बालग्राम स्कुल इटहरी, युनाइटेड गोर्खा एकेडेमी स्कुल धरानका विरुद्ध महेन्द्र मेमोरियल एकेडेमी दुहबी र डिपोट स्कुल धरानका विरुद्ध पुलिस बोर्डिङ स्कुल धरानबीच खेल हुने एन्फा सुनसरी अध्यक्ष केशव कार्कीले जानकारी दिएका छन् ।