पानवारी/ एन्फामा हुने राजनीतिलाई समाप्त पारेर अब फुटबल खेलको विकासमा एन्फा लागि पर्ने एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले बताएका छन् ।
एन्फा सुनसरीले आयोजना गरेको जिल्ला स्तरीय अन्तर विद्यालय फुटबल प्रतियोगिताको अवलोकन गर्ने क्रममा एन्फा अध्यक्ष शेर्पाले लामो समयसम्म एन्फामा राजनीति हाबी हुँदा फुटबल खेलको विकास नभएको बताएका हुन् । उनले तीन चरणको निर्वाचन सम्पन्न भएसंगै मुलुकले स्थायित्व पाएको बताउँदै अब फुटबलको विकास समेत तिव्र रुपमा हुने दाबी गरे । एन्फा अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक १ नं. प्रदेश आएका शेर्पाले स्थानीयत तहमा खेलकुद सम्बन्धि स्पष्ट नीति तथा कानुन नबन्दा त्यसले खेल क्षेत्रलाई समेत प्रभाव पारेको बताए ।
एन्फाका मानार्थ उपाध्यक्ष किशोर राईले लामो समयदेखि बन्द भएको धरानको एन्फा टेक्निकल सेन्टर अध्यक्ष लामाले अवलोकन गरे पश्चात पुन सञ्चालनमा आउने विश्वास व्यक्त गरेका थिए ।
एन्फाले २०५७ सालमा विश्व फुटबल संघ (फिफा) को गोल प्रोजेक्ट मार्फत अखिल नेपाल फुटबल संघको राष्ट्रिय कार्यक्रम अन्तर्गत तत्कालिन धरान नगरपालिकासँग जग्गा भाडामा लिएर भवन निर्माण गरेको थियो । एन्फाले त्यसबेला सेन्टरमा पूर्व क्षेत्रका खेलाडीलाई प्रशिक्षण दिने, फुटबलका प्रशिक्षकलाई प्रशिक्षण दिने, रेफ्री, मेडिकल टिमलाई समेत प्रशिक्षण दिने उद्देश्यले भवन बनाएको थियो ।