दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै बेल्जियम रुसमा जारी विश्वकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । एशियाली प्रतिस्पर्धी जापानलाई बेल्जियमले ३ – २ गोलले हराएको हो । दुई गोल उसका सब्सिच्युड खेलाडीले गरे ।
रसियाको रोस्तोभ एरिना रंगशालामा भएको खेलमा कुनै समय बेल्जियमले आफ्नो पकड गुमाइसकेको थियो । तर, उसले शानदार पुनरागमन गर्न सफल भयो । खेलमा पाँचै गोल दोस्रो हाफमा सम्भव भयो ।
विश्वकपको नकआउट चरणमा दुई शून्यले पछि परेको स्थितिलाई उल्टाउँदै खेल जित्ने बेल्जियम दोस्रो टोली बनेको छ । यसअघि सन् १९७० मा पश्चिम जर्मनीले इंग्ल्याण्डबिरुद्ध यस्तै नतिजा निकालेको थियो ।
क्वार्टरफाइनल चरणमा बेल्जियमले पाँच पटकको च्याम्पियन ब्राजिलसँग खेल्नेछ । राती नै भएको खेलमा मेक्सिकोलाई २ – ० गोलले हराउँदै ब्राजिल क्वार्टरफाइनलमा पुगेको हो ।
विश्वकपमा सहभागी टोलीमध्ये सबैभन्दा महंगो (खेलाडीको मूल्यका आधारमा) टोली बेल्जियम पहिलो हाफमा भने प्रभावकारी बन्न सकेन । तर उसले जापानलाई दबाबमा राखेको थियो । उसका लागि स्टार स्ट्राइकर रोमेलु लुकाकुले दुई शानदर मौका खेर फालेका थिए ।
तर, दोस्रो हाफको सुरुमै बेल्जियमले २ गोल खान पुग्यो । ४८औं मिनेटमा गाको सिवाशाकीको उत्कृष्ट पासमा गेन्को हारागुचीले वान भर्सेस वानमा गोल गरे । त्यसको चार मिनेटपछि नै उपाधिको दावेदारमध्येको एक बेल्जियमबिरद्ध जापानले दोहोरो अग्रता बनायो ।
सिञ्जी कागावाको पासमा ताकासी इनुइले करिब २५ यार्डबाट प्रहार गरेको शट बेल्जियन किपर थियागो कोट्वालाई चक्मा दिँदै गोलमा परिणत भएको थियो ।
तर, बेल्जियम खेलमा फर्कियो । ६९औं मिनेटमा जान भर्टोनघानले पेनाल्टी एरियाको दायाँपट्टीबाट गरेको हेडर आकर्षक गोलमा परिणत भएको थियो । ७४औं मिनेटमा बेल्जियमले बराबरी गोल फर्कायो । ६५औं मिनेटमा ड्राइज मार्टिन्सलाई प्रतिस्थापन गरेका मोरुन फेलिनीले हेडमार्फत गोल गरे ।
बराबरीतर्फ उन्मुख खेलको अन्तिम मिनेटमा बेल्जियमका सब्सिच्युड स्टइकर नासिर चाड्लीले पेनाल्टी एरियाबाट क्लोज रेञ्ज शट प्रहार गरी खेलको नाटकीय अन्त्य गरे । यही गोलले बेल्जियम विश्वकपको क्वार्टरफाइनलमा पुग्यो । उनी यान्निक कारास्कोको स्थानमा ६५औं मिनेतमा मैदान छिरेका थिए ।
विश्वकपमा मंगलबार प्रिक्वार्टरफाइनल चरणका अन्तिम दुई खेलहरु हुँदैछन् । जसमा स्वीट्जरल्याण्ड र स्वीडेन तथा इंग्ल्याण्ड र कोलम्बिया आमने सामने हुनेछन् ।