बेलबारी । मोरङको बेलबारीमा जारी नगर स्तरीय मेयर फुटबल प्रतियोगिताको उपाधी वडा नं. १ ले चुमेको छ । एम्व्रियो युवा क्लवको आयोजनामा मंगलवार भएको फाईनल खेलमा ट्राईब्रेकरमा वडा नं. ८ लाई २–३ को गोल अन्तरले पराजित गर्दै वडा नं. १ विजयी भएको हो । निकै प्रतिश्पर्धात्मक खेलमा निर्धारित समयमा दुवै तर्फबाट एकएक गोलगरी बराबरी भएपछि ट्राईबे्रकर भएको थियो । खेलको पहिलो हाफमा वडा नं. ८ को तर्फबाट विक्रम लिम्बूले गोल गरि टिमलाई अग्रता दिलाएको थियो । तर दोश्रो हापमा वडा नं. १ का विवेक पौडेलले दिएको क्रसपासलाई सदुपयोग गर्दै नविन राईले गोल गरि बराबरी बनाएको थियो । ट्राईब्रेकरमा वडा नं. ८ का सुरेन्द्र खवास(बी)ले प्रहार गरेको बल पोलमा ठोक्किएको थियो भने दिलिप राजवंशीको फितलो प्रहारलाई वडा नं. १ का गोल रक्षक भक्त धिमालले सहजै बचाउ गरि टिमलाई विजयी गराएका थिए । प्रतियोगितामा विजेतालाई नगद एकलाख एक हजार र उपविजेतालाई ५१ हजार नगद पुरस्कार सहित प्रमाण पत्र वितरण गरिएको थियो । त्यसैगरी उत्कृष्ट खेलाडी वडा नं. १ का विवेक पौडेल घोषित भएका छन् त्यसैगरी बढी गोल गर्ने वडा नं. ८ का विक्रम लिम्बू घोषित भएका छन् । उनीहरु लाई नगद पाँचहजार र प्रमाण पत्र प्रदा गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि तथा बेलबार नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी तथा जिल्ला फुटवल संघ मोरङका अध्यक्ष दिपेन्द्र धिमालले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा विभिन्न सहयोगी संघसंस्थालाई मायाको चिनो प्रदान गरि सम्मान गरिएको थियो । कार्यक्रम एम्व्रियो युवा क्लवका अध्यक्ष नारायण लिङ्थेपको सभापतित्वमा सम्पन्न भएको थियो ।