धरान । विश्वकप फुटबलमा क्रोएसिया दुई दशकपछि सेमीफाइनलमा पुगेको छ । सन् १९९८ मा तेस्रो बनेको क्रोएसिया सेमीफाइनलमा पुग्न सकेको थिएन । क्रोएसियाले आयोजक राष्ट्र रूसलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा प्रवेश गरेको हो । क्रोएसियाको सेमीफाइनल यात्रासँगै सेमीफाइनलको समीकरण पूरा भएको छ । निर्धारित १–१ गोलको बराबरीमा रोकिएपछि थपिएको समयमा २–२ को बराबरी खेलेपछि ट्राइब्रेकरबाट नतिजा आएको थियो । खेलको ३१ औं मिनेटमा रुसका डेनिस चेर्सिभले गोल गर्दै अग्रता कायम गरे । तर उनको अग्रतालाई क्रोएसियाका आन्द्रेज क्रामारिजले गोल गर्दै बराबरी गरे । खेलमा क्रोएसियाका लागि डोमागोज भीडाले १०१ मिनेटमा गोल गर्दै अग्रता कायम गरे । तर, ११५ औं मिनेटमा रूसका लागि मारियो फरनान्डेजले बराबरी गोल फर्काए । क्रोएसियाले अब इङ्ल्याण्डसँग भिडन्त गर्दै छ । यता फ्रान्स र बेल्जियम फाइनलमा पुग्नको लागि भिड्दैछन् ।