यौन स्वस्थ जीवनको आवश्यकता हो र यसलाई कुनै रोगमा पनि पूर्णरुपमा वर्जित विषय मानिदैन । शारीरिक तथा मानसिक अवस्था एवम् उपयुक्त व्यक्ति तथा वातावरण जस्ता विषयले यौनको नतिजा फरक पार्न सक्छन् । यौन सम्पर्कको चरम उत्तेजनाको समयमा मुटुको चाल तथा रक्तचाप पनि केही बढ्ने भएकोले मुटुलाई थप दबाव चाहिँ पर्न सक्छ । यही कारणले गर्दा मुटुको धमनीको रोग भएका व्यक्तिमा केही सावधानी अपनाउनु आवश्यक हुन्छ । जो व्यक्तिलाई सामान्य हिँडडुल गर्दा वा भ¥याङ चढ्दा छाती भारी हुने गर्छ । त्यस्तोलाई यौन सम्पर्कको समयमा हृदयाघातको केही जोखिम हुनसक्छ । यस्तो अवस्थामा मुटुरोग विशेषज्ञसँग परीक्षण गराई मुटुरोगको अवस्थाका बारेमा सही जानकारी लिई उचित उपचार गर्ने तथा सावधानीका उपायहरु सोध्न सकिन्छ । हृदयाघात भएका व्यक्तिले शुरुको दुई हप्तासम्म बढी शारीरिक परिश्रम गर्नु राम्रो हुँदैन । त्यसपछि जब हिँडडुल गर्दा छाती भारी नहुने तथा स्वयम् बिरामीलाई मध्यम् तहका शारीरिक गतिविधि गर्न सहज हुन्छ । तब यौनसम्पर्क सुचारु गर्न सकिन्छ । तर यस्तो कुरा व्यक्तिपिच्छे फरक पर्न सक्दछ । साथै हृदयाघातपछि कहिले यौनसम्पर्क गर्ने भन्ने कुराको सही उत्तर चाहिँ जब व्यक्तिले आफूलाई स्वस्थ महसुस गर्छ र यौनको लागि तयार तथा सक्षम ठान्दछ भन्ने हो । हृदयाघातपश्चात् यौनको लागि व्यक्तिले आफूलाई विस्तारै तयार गर्दै लैजानु पर्छ । यौन सम्पर्कमात्र नभई विभिन्न स्वस्थ यौनजन्य गतिविधिहरु शुरुको अवस्थामा उपयोगी हुन सक्छन् । आफ्नो रुची तथा अवस्थाको बारेमा श्रीमान् श्रीमतीबीच कुनै दूरी नराखी कुरा गर्ने, एक–अर्काको अवस्था बुझेर सोअनुसार स्वस्थ व्यक्तिले मद्दत गर्ने, खाना खानेबित्तिकै यौनसम्पर्क नगर्ने, मनबाट त्रास हटाउने, यौनसम्पर्क गर्दागर्दै छाती भारी भएमा सो कार्य रोकेर नाइट्रेट समूहको औषधि सेवन गर्ने सो कुरा डाक्टरले बताइसकेको हुनसक्छ वा डाक्टरसँग सल्लाह लिने तथा यस्तो समस्या भएमा तुरुन्त डाक्टरको परामर्श लिनुपर्ने हुन्छ । उच्च रक्तचाप तथा मुटुजन्य रोग सँगै जोडिएर आउने यौनसम्बन्धी अर्को मुख्य विषय चाहिँ यौनमा रुची कम हुनु तथा पुरुषको लिङ्ग उत्तेजित नहुनु हो । जसरी मुटु तथा मस्तिष्कको रक्तनलीहरूमा बोसो जम्मा हुने तथा साँघुरिने हुन्छ, त्यसरी नै लिङ्ग तथा योनीको रक्तनलीहरूमा पनि साँघुरिने भई रक्तप्रवाह घट्न जान्छ । यसले गर्दा दुवैमा यौन रुची घट्न सक्छ । त्यस्तै पुरुषमा लिङ्ग उत्तेजित नहुने, उत्तेजनामा आउन बढी समय लाग्ने, उत्तेजना लामो समयसम्म धान्न नसक्ने तथा आदि हुनसक्छ भने महिलामा पनि सुख्खा भई बढी पीडा हुनसक्छ । त्यस्तै मुटु तथा रक्तचापका बिरामीले कुनै कारण बिना पनि आफूलाई कमजोर ठानी आत्मबल कमजोर बनाएर यौनमा अग्रसरता नदेखाउने तथा पूर्ण सन्तुष्टि प्राप्त गर्न नसक्ने हुन्छन्, जुन अवस्थालाई मनोवैज्ञानिक परामर्शको आवश्यकता पर्दछ । त्यस्तै मुटु तथा रक्तचापसम्बन्धी केही औषधिले पनि यौन कार्यमा प्रभाव पार्दछन् । प्रेसरका लागि चलाइने थायजाइड तथा ब्लकर समूहका औषधिले यौन रुची कम गराउने, चरम सुख नहुने लिङ्गको उत्तेजनामा कमी ल्याउने गर्दछन् । युवा तथा प्रौढ उमेरका करिब १० प्रतिशत व्यक्तिमा यस्तो असर पाइएको अध्ययनहरुले देखाएका छन् । व्यक्तिको उमेर तथा अवस्था हेरेर वैकल्पिक औषधिको प्रयोग गर्न सकिन्छ । त्यस्तै मुटुरोगको लागि चलाइने डिजोक्सिन तथा स्पारोनोल्याक्टोन जस्ता औषधिले यौनइच्छा कम गर्ने तथा पुरुषहरुको स्तन दुख्ने तथा सुन्निने गराउन सक्छन् । त्यस्तै मुटुको पम्प कमजोर भएका बिरामीहरुमा पनि यौन इच्छा कमी तथा यौन सुख कम हुन सक्दछ । यसबाहेक उच्च रक्तचाप हुने विभिन्न हर्मोनसँग सम्बन्धित अवस्थाहरु मिर्गाैला तथा मधुमेह आदि रोगहरुमा यौन इच्छा घट्न सक्दछ । त्यस्तै लिङ्गको उत्तेजना बढाउन भियग्रालगायतका औषधि सेवन गर्न सकिन्छ । मुटुरोगी तथा अन्य सबैले यस्तो औषधि सेवन गर्नुअगाडि चिकित्सकको परामर्श लिनु पर्दछ । त्यस्तै नाइट्रेट समूहको औषधि सेवन गरिरहेको व्यक्तिले भियग्राको सेवन गर्नु प्राणघातक हुनसक्छ । त्योबाहेक हालसालै हृदयाघात भएका तथा मिर्गौला एवम् कलेजोसम्बन्धी रोग भएकोले पनि यसको सेवन गर्नु हुँदैन ।