भद्रपुर । भद्रपुर नगरपालिकाले आउदै गरेको तीज पर्व मनाउनलाइ रकम छुट्याएको भन्दै नेपाल महिला संघ भद्रपुरले रकम दुरुपयोग रोक्न माग सहित ज्ञापन पत्र बुझाएको छ । जनताको करबाट संकलित रकमले महिला उत्थानको नाममा केही सिमित महिलालाई भोजभत्तेर गरी रकम दुरुपयोग हुन लागेको ठहर गरी त्यस्तो काम रोक्न संघले नगर प्रशासनमा ज्ञापन पत्र बुझाएको हो । संघकी नगर सभापति प्रमिला कोइराला नेतृत्व टोलीले उपप्रमुख चन्द्रमाया श्रेष्ठलाई प्रतिनिधिमुलक दर खाने काम जनपक्षीय हुन नसक्ने ठहर सहित नगरबासी महिलाको उत्थाका लागि छुट्याइएको वजेट भोजभत्तेरमा खर्च नगर्न माग गर्दै ज्ञापन पत्र बुझाएका छन् । महिला संघ झापा सभापति शुशिला ढकालले पछिल्लो समय तीज आफैंमा भड्किलो पर्व बन्दै गएको बताइन् । हुने खानेहरू प्रतिष्पर्धा गरेर चाड महङगो बनाउँदै छन् तर गरिब र अशक्त हेरेर बाँच्नु परेको पीडालाई उनले स्मरण गराइन् । असमानता देखिने भोजको अ‍ैचित्य नरहेको उनको भनाइ छ । यस्तै संघकी झापा क्षेत्र नम्बर ३ की सभापति सर्मिला अधिकारीले नगर प्रशासन गरिब र अशक्त नारिको हितमा भन्दा सशक्त नारीको पक्षमा रहेकोले विभेद अन्त्यका लागि संघले ज्ञापन पत्र दिनु परेको बताइन् । नारीको हितमा तीजको कार्यक्रम ल्याइएको भद्रपुर नगर उपप्रमुख चन्द्रमाया श्रेष्ठले बताइन् । सस्कृति जोगाउदै सन्देश मुलक कार्यक्रम गर्न लागिएको उनको भनाइ छ । नगरमा रहेका प्रतिनिधिमुलक नारीलाई एक दिन भए पनि रमाइलो गर्न दुइलाख रकम विनियोजन गरी तीज विशेष कार्यक्रम ल्याइएको उनले जनाइन् । प्रतिष्पर्धा गरी न्युनतम मुल्यमा कार्यक्रम सम्पन्न गर्ने निकायलाई जिम्मा दिनु पर्नेमा विना प्रतिष्पर्धा होटल सिटी गार्डेन भद्रपुरलाई दिने कार्य समेत विवादमा परेको छ ।