तेह्रथुम । कृषि र पर्यटनबाटै प्रदेश १ लाई समृद्ध बनाउन सकिने प्रदेशका पर्यटन वन तथा वातावरण मन्त्री जगदीशकुमार कुसियतले बताएका छन् । तेह्रथुम र धनकुटाको सिमानामा रहेको पटकेडाँडामा आयोजित पटकेडाँडा धार्मिक तथा पर्यटकीय महोत्सव उद्घाटन कार्यक्रममा कृषि र पर्यटनबाटै प्रदेश १ लाई समृद्ध बनाउन सकिने मन्त्री कुसियतले बताए । उनले पूर्वी पहाडी जिल्लामा रहेका विभिन्न स्थानहरू पर्यटकीय हिसाबले सम्भावना र महत्वपूर्ण रहेकाले प्रदेश सरकारले समेत पर्यटनलाई पहिलो प्राथमिकतामा राखेको बताए । ‘प्रदेश सरकारले पहिलो प्राथमिकता कृषि र दोस्रो प्राथमिकता पर्यटनलाई राखेको छ ।’ मन्त्री कुसियतले भने । नेपाल कृषि प्रधान मुलुक हुँदाहुँदै पनि अहिले ६८ अर्ब हाराहारीको खाद्यान्य अपुग रहेको मन्त्री कुसियतले बताए । यस क्षेत्रलाई आत्मनिर्भर बनाउन कृषि र पर्यटनमा विशेष जोड दिने बताए । यसैगरी कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्री ईन्द्र आङ्बोले नेपालको कुल बजेट १३ खर्ब हाराहारी भएकामा ११ खर्ब ६० अर्ब बढी घाटा नेपालको भएको बताए । यस्तो अवस्थामा कसरी बाहिर वस्तुको आयात रोक्ने र आफ्नै देशभित्र भएका वस्तुको उत्पादनलाई प्रवद्र्धन गर्ने भन्नेबारे लागि परेको मन्त्री आङ्बोले बताए । स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्न यस्ता महोत्वसले सहयोग पुग्ने उनको भनाइ छ । आगामी २, ३ वर्षको नेपालको स्थितिलाई हेर्दा नेपालको बजेट भन्दा ठूलो बजेट घाटा हुने मन्त्री आङ्बोले दाबी गरे । यो व्यापार घाटालाई अन्त्य गर्नका लागि पनि कृषि र पर्यटनलाई प्रवद्र्धन गर्नु पर्ने उनको भनाइ छ । कार्यक्रममा प्रदेश सदस्य लक्ष्मण तिवारी, ईन्द्रमणि पराजुली, मिलन राईलगायतले महोत्सव सफलताको शुभकामना राखेका थिए । लालीगुराँस नगरपालिका वसन्तपुर नजिकै रहेको पटकेडाँडामा भदौ १२ गते सम्म सञ्चलित पटकेडाँडा धार्मिक तथा पर्यटकीय महोत्सवमा ५० लाख बढीको आर्थिक कारोबार हुने पटकेडाँडा पर्यटन प्रवद्र्धन समितिका अध्यक्ष होम रायले बताए । महोत्वसमा विभिन्न जातजातिका भेषभूषा, धर्म संस्कृति झल्कने नृत्य प्रस्तुत भइरहेका छन् ।