पथरीशनिश्चरे । मोरङको पथरीशनिश्चरे नगरपालिकाले ४ वटा विषयमा विनियोजित नगरस्तरीय बजेटभित्रका विभिन्न शीर्षकमा योजना निर्माण गरी रकम बाँडफाँड गरेको छ । नगर प्रमुख दिलिपकुमार राईको अध्यक्षतामा आइतबार बसेको नगर कार्यपालिकाको बैठकले आर्थिक वर्ष ०७५/७६ का लागि नगरसभाले पारित गरेको नगरस्तरीय शीर्षकमा रहेका कार्यक्रमलाई मसिनो रूपमा योजना बनाएको प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए । शिक्षामा ८५ लाख, कृषिमा ८५ लाख, लक्षित समुदायमा ४५ लाख र पशुपंक्षीमा ३० लाख विनियोजित बजेट एवम् नीति तथा कार्यक्रममा रही त्यसभित्रका विभिन्न शीर्षकमा रकम बाँडफाँड गरिएको छ । शिक्षातर्फ, दरबन्दी नभएका विद्यालयलाई राहत सहयोग, बालविकास केन्द्रका शिक्षिका, विद्यालय कर्मचारीलाई तलबमा सहयोग थप गरिएको तथा केही विद्यालयलाई भौतिक पूर्वाधारमा समेत सघाउने निर्णय भएको छ । कृषितर्फ, व्यवसायिक कृषिका लागि केही कृषि उपकरणलाई सहुलियतमा उपलब्ध गराउने, जैविक मल उत्पादन, अग्र्यानिक खेतीलाई प्राथमिकताका कार्यक्रमहरू तय भएका छन् । ढाका तान, महिला क्यान्सर उपचार, दुनाटपरी उत्पादन सहितका महिला लक्षितका साथै युवा, आदिवासी जनजाति, बालबालिका, अपाङ्गता, दलित र ज्येष्ठ नागरिक लक्षित कार्यक्रम तय गरिएको छ । पशुपंक्षीतर्फ, नश्ल सुधार, पशुहाट सुधार, पशुपंक्षी पालन, व्यवस्थित मासु पसलसहितका कार्यक्रमका लागि बजेट बाँडफाँड गरी योजना तय गरिएको छ ।