बिर्तामोड/ झापाको बिर्तामोडदेखि कनकाई नगरपालिकाको सुरुङ्गा खण्डसम्मको १० किलोमिटर सडकमा ‘सडक सुशासन कार्यक्रम’ सञ्चालन गरिने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले अघि सारेको कार्यक्रमबमोजिम त्यस क्षेत्रकामा पर्ने महेन्द्र राजमार्गको सडकमा, सडक सुशासन कार्यक्रम सञ्चालन गरिने भएको हो । सडक सुशासन कार्यक्रम लागू भएको सडक खण्डमा निर्माण सामग्री राख्न नदिने, छाडा पशु चौपाय नियन्त्रण गर्ने, सडक खण्डमा ब्यापार ब्यावसाय गर्न प्रतिबन्ध लगाउने, सिटको सङ्ख्या भन्दा बढी यात्रुलाई यात्रा गराउन रोक लगाउने, जथाभावी यात्रु चढाउने र ओराल्ने क्रमलाई नियन्त्रण गर्ने बताइएको छ । सडक सुशासन कार्यक्रम सञ्चालन गर्नका लागि सो क्षेत्रमा रहेका स्थानीय तहलाई जानकारी गराउने र स्थानीय तहले पनि सडक सुशासनको पक्षमा आफ्नो क्षेत्रमा व्यापक छलफल चलाउने निर्णय भएको ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका इन्स्पेक्टर राजेश राईले जानकारी दिएका छन् । सडक सुशासन कार्यक्रम लागू भएपछि त्यस क्षेत्रमा रहेका विद्यालयले समेत सवारी साधनमा भएको सिट क्षमता भन्दा बढी विद्यार्थी ओसार पसार गर्न बन्द गर्नुपर्ने उनले बताए । सडक सुशासन कार्यक्रम लागू गर्ने विषयमा जिल्ला प्रशासन कार्यालय झापामा बसेको बैठकले त्यस क्षेत्रको सडक छनोट गर्दै कडाइका साथ कार्यान्वयन गर्ने बताएको छ ।