धरान/एक वर्षभरी दिवङ्गत भएका पितृहरूका स्मरणमा गरिने गाईजात्रामा नेवार समुदायले मेयर सुब्बाको पनि तस्बिर बोकेका थिए । नेवार समुदायले मनाउने गाईजात्रामा यसपटक दिवङ्गत मेयर तारा सुब्बाको पनि सम्झना गरिएको छ । ‘जुनसुकै समुदायमा जन्म लिएको भए पनि स्वर्गीय सुब्बा धरानबासीको अभिभावक हुनुहुन्थ्यो ।’ नेपाल खड्गी समाज धरानका अध्यक्ष मनिष खड्गीले भने । धरानबासीको अभिभावक हुनुभएकाले उनको आत्माको शान्तिको कामना गर्दै तस्बिर परिक्रमा गरिएको हो । छोरोको मृत्युपछि शोकमा डुबेकी रानीको मन शान्त पार्नका लागि राजा प्रताप मल्लले गाईजात्राको प्रचलन चलाएका थिए । वर्ष दिनभित्र दिवङ्गत भएका पितृहरूको सम्झनामा निकालिने गाईजात्रा धरानमा पनि निकालिएको छ । धरानमा सोमबार सिद्धि नेवाः परिषद्को आयोजनामा निकालिएको गाईजात्रामा यसपटक ३३ परिवारले दिवङ्गत पितृहरूको सम्झनामा गाई तथा गणेशको चित्रअङ्कित गाईजात्रा निकालेका हुन् । गाईजात्रा धरानको भानुचोक, छाताचौक, लक्ष्मीचौक, पृथ्वीचौक, चिनियाँ चौकहुँदै पुनः सिद्धि नेवाः परिषद्मै आएर टुङ्गिएको थियो ।
यमलोकको मुख्य ढोका वर्षभरि बन्द रहने र मृत्युलोक अर्थात् पृथ्वीलोकमा गाईजात्रा निकालेपछि यमलोकको ढोका खुल्ने र मृतात्माले यमलोक प्रवेश गरी मुक्ति पाउने भएकोले गाईजात्रा निकाल्ने प्रचलन रहेको कार्यक्रम संयोजक तुलसीप्रसाद श्रेष्ठले बताए । दिवङ्गत भएका आफन्तहरूको सम्झनामा गाईजात्राका सहभागीलाई श्रद्धालुहरूले दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्नदान गर्ने परम्परा रहेको छ । यसो गर्दा आफ्नो पितृले मुक्ति पाउने जनविश्वास रहेको श्रेष्ठले बताए । गाईजात्रामा धिमे बाजा, ठ्याकठुके नृत्य, लाखे नाचसमेत प्रस्तुत गरियो । गाईजात्राकै दिन दिवङ्गत भएका व्यक्तिको घरमा शोकाञ्जली रामायण पर्व पनि मनाइएको छ ।
यसवर्ष गणेशमान प्रधान र विष्णुदेवी मास्केको घरमा मात्र शोकाञ्जली रामायण पर्व मनाइएको शोकाञ्जली रामायणका संयोजक अतुलदीप श्रेष्ठले बताए । यस्तै नेवाःपुचः धनकुटाको जिल्ला कार्यालय सिरवानीमा भेला भएर धनकुटाका नेवारी समुदायले जात्रा निकालेका हुन् । जात्रा २३ घरबाट निकालिएको नेवाःपुचः धनकुटाका अध्यक्ष नवीनकिशोर शाक्यले बताए । जात्रा सिरवानी, सब्जी बजार, मदनचोक, हुलाकटोल, चुवाबोट, परिचयमोड, बीचबजार, सिरानबजार, भीमनारायणचोक, माथिल्लोकोप्चे, तल्लो कोप्चेहुँदै पुनःसिरवानीमा पुगेर जात्रा टुङ्गिएको थियो ।
जात्रामा हजारौंको सहभागिता रहेको थियो ।