पथरीशनिश्चरे/झापाको दमकमा बस्दै आएका भूटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी श्रीमती उर्मिला राईको उपचारका लागी बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ । भूटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती अभियानका संयोजक डाक्टर राईका साथै उनकी श्रीमती उर्मिलाका लागि पछिल्लो पटक बेलायतको रिडिङमा बस्दै आएका गजेन्द्र गुरुङ्गको संयोजकत्वमा रहेको आर्थिक संकलन समितिले १ लाख ७८ हजार ९ सय ७० सहयोग उपलब्ध गराएको हो ।
भूटानी शरणार्थीका लागि निःशुल्क उपचारमा संलग्न राईको आफ्नो उपचारमा भनें आर्थिक संकट परेपछि स्वतस्फुर्त सहयोग जुट्ने काम भएको छ । यसअघि, प्रधानमन्त्री कार्यालयबाट १० लाख, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रुपमा १ लाख, जिल्ला समन्वय समिति झापाबाट १ लाख र दमक नगरपालिकाले ५० हजार रकम सहयोग प्रदान गरेको थियो ।
दुई महिना अघि राईको आन्द्रामा समस्या भएपछि भारतको सिलिगुढीस्थित एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । राई अझै पनि पूर्ण रुपमा ठीक भइसकेका छैनन् । श्रीमती उर्मिलाको त अझ दुबै मृगौला खराब छन् । अहिले श्रीमती राईको विर्तामोडस्थित विर्तासिटी हस्पिटलमा नियमित डायलोसिस हुँदै आएको छ ।
सन् १९९१ मा दक्षिण भुटानबाट नेपालीभाषी भुटानी नागरिकहरु लखेटिएसँगै भूटानका सरकारी अस्पतालका सर्जन डाक्टर राई पनि दमकमा नै शरणार्थी जीवन बिताउदै आएका छन् ।