बेलबारी/ बाढीले क्षतिग्रस्त बनाएको मोरङको बेलबारी नगरपालिका वडा नं. ५ अन्तर्गत लोहोन्द्रा पुलसँगै रहेको सिंचाईको साईफन बगाएको वर्ष दिन बितिसक्दा पनि यसको निर्माण कार्य शुरु हुन सकेको छैन ।  गतसालको बाढीले १ सय ६७ मीटर लामो पुल बगाएपछि स्थानीय बासिन्दाहरुलाई आवत-जावत गर्न अहिले समस्या परेको छ । त्यसैगरी पुलसँगै सुनसरी मोरङ सिंचाई आयोजनाले बनाएको नहरको पानी बग्ने साईफन पनि बाढीले बगाएपछि यसपाली हजारौं कृषकहरु प्रभावित भएका छन् । खोलामा बाँध कसेर केहि ठाउँमा अस्थायी रुपमा सिंचाई गरेका छन् । भने एकाध ठाउँमा आकासे पानीले कृषकहरुले धान रोपेका छन् । तर पुरै नहरको पानीले आश्रित करिब साढे तेह्रहजार हेक्टर खेती योग्य जमीन पनि बाँझो रहेको छ । यस बाढीले साईफन बगाएपछि सिचाईमा समस्या भएपछि धान उत्पादनको अनुपातमा राष्ट्रिय रुपमा नै अशर पर्ने बेलबारी नगरपालिका वडा नं. ५ का वडाध्यक्ष विश्ववन्धु बस्नेत बताउँछन् । यति धेरै जमिनमा धान उत्पादन नहुँदा धान उत्पादनमा हस आउने स्थानीय वासिन्दाहरुको पनि अनुमान छ ।

नहरबाट आएको पानीले सुनसरी र मोरङको ६० हजार हेक्टर जमिनलाई सिचाई सुविधा हुदै आएको थियो । तर यस पटक भने एक चौथाई जमिनमा खेती नहुँदा धानउत्पादनको असर कसेनी, कानेपोखरी गाउँपालिका,रंगेली नगरपालिका लगायतका हजारौं कृषकहरुमा पर्ने देखिएको छ । सुनसरी मोरङ सिंचाई आयोजनाले बनाएको उक्त नहर केरौन देखि दक्षिणी भारतका सिमासम्मका खेती योग्य जमिनलाई सिंचाई सुविधा पुग्दै आएको छ ।  त्यसैगरी यसको असर धान उत्पादनसँगसँगै स्थानीय बासिन्दाहरुलाई आवत-जावतमा ठूलै समस्या परेको छ । हिउँदको समयमा सामान्य बाँसका पुलेसा बनाएर आवत-जावत गर्ने भने वर्षायाममा विभिन्न सामान ढुवानी गर्न तथा यातायातका साधन सञ्चालन गर्न स्थानीय बासिन्दाहरुलाई धेरै असुविधा भएको छ । पुल नभएको कारण उनीहरुलाई दोब्बर समय र खर्च बढेको छ । पुल बगेपछि पाँचसय मीटरमा आवतजावत गर्न सकिने कसेनी र नेताचौक बासिन्दाहरुलाई अहिले वारिपारी गर्न करिब २५ किलोमीटर घुम्नु पर्ने स्थिति छ ।

पुल भत्किए लगत्तै स्थानीय जनप्रतिनिधिहरुले यसको निर्माणका लागि प्रदेश सरकार र केन्द्र सरकारको पटक-पटक ध्यानाकर्ष गराई सकेपनि निर्माण भने शुरु हुन सकेको छैन । भत्किएको पुलको अवलोकन गर्न एक पटक प्रदेश मुख्यमन्त्री शेरधन राई र एक साता अगाडि मात्र उर्जा,सिचाई तथा जलश्रोत मन्त्री वर्षमान पुनले पनि अवलोकन गरेका छन् । मन्त्री पुनले यही आर्थिक वर्ष भित्रमै पुलको निर्माण कार्य गरिने स्थानीयवासीहरुलाई आश्वस्त पारेका छन् । त्यसैगरी बेलबारी नगरपालिकाका मेयर ज्ञानेन्द्र सुवेदी पनि पुल निर्माण कार्यको लागत ठूलो रकम भएकोले निर्माण कार्य थालनी गराउन लगायत नगरका अरु समस्या लिएर केन्द्र सरकारको सम्बन्धित मन्त्रालय पहल गरिरहेको बताएका छन् ।