पथरी । खानेपानीमा विषादी मिसिएको घटनाका कारण विद्यार्थीहरू अझै पनि ट्याङ्कीबाट आएको पानी पिउन त्रसित बन्ने गरेका छन् । विषादीको त्रासकै कारण हाल पनि ट्याङ्कीबाट आएको पानी पिउन नसकेका हुन् । त्रासका कारण विद्यार्थीले घरबाटै पानी बोकेर ल्याउने गरेका छन् । विद्यालयले विद्यार्थीलाई लक्षित गर्दै जारको पानीको व्यवस्था गरेको छ । दिनमा ७ वटा जार सकिन्छ । ‘एउटा २० लिटरको जारलाई ६० रूपैयाँ पर्न जान्छ, आयस्रोत छैन, अहिलेसम्म विद्यालयले नै खरिद गरिरहेको छ’–प्रधानाध्यापक खेमराज दुलालले भने । विद्यालयमा खानेपानी ट्याङ्कीबाट ल्याएको अर्को धारा पनि छ तर विद्यार्थीले खान मान्दैनन् । ‘त्यो धाराबाट हात, खुट्टा मात्र धुन्छन्, विद्यार्थीले बरु आफैले घरबाटै पानी बोकेर आउने गरेका छन्’– शिक्षक खगेन्द्रराज खतिवडाले भने । अब फिल्टर र विद्यालयमा राखिएको ट्याङ्कीलाई व्यवस्थित गरेर धाराको पानी विद्यालयमा सञ्चालन गरिने प्रधानाध्यापक दुलालले बताए ।
पानीमा विषादी प्रकरण |
साउन २९ गते बिहान लेटाङ–९ स्थित जाँतेको श्रीमाविको खानेपानीको ट्याङ्कीमा विषादी मिसिएको पानी खाँदा २९ जना विद्यार्थी बिरामी परेका थिए । तीमध्ये ७ जना सिकिस्त भएका थिए । घटनापश्चात् खानेपानीको ट्याङ्की खोलेर हेर्दा साइपर मेथिन १० प्रतिशत नामक विषादीको खाली बट्टा फेला परेको थियो । पानी पिउने ठाउँमा चेन गेट भए पनि विद्यालयको तलामाथि सिँढीको भाग खुल्ला र फिल्टर ट्याङ्की तथा पिउने पानीको ट्याङ्कीको ढकनी खुल्लै भएकोले अज्ञात समूहले धानमा लगाउने विषादी लगाइदिएको थियो । घटनापश्चात् जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी निशान थापाको संयोजकत्वमा घटनाको अनुसन्धान गर्न टोली गठन गरेको थियो । अनुसन्धान टोली गठन गरे तापनि टोलीले दोषी भने अझै पत्ता लगाउन सकेको छैन । इलाका प्रहरी कार्यालय लेटाङका इन्स्पेक्टर योगराज खतिवडाले अनुसन्धान भैरहेको बताउँदै आएका छन् । उता वडा नं. ९ का वडाध्यक्ष कृष्णप्रसाद लुइटेलले प्रहरीको अनुसन्धान सोचेजस्तो नभएको बताए । ‘घटना भएको यतिका दिन बितिसक्दा पनि दोषी अझै पत्ता नलाग्नु, अनि जनताको सुरक्षामा खटिएको प्रहरीले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति कसरी दिलाउँछ ?’ –वडाध्यक्ष लुइटेलले भने ।