उर्लाबारी । उर्लाबारी उद्योग वाणिज्य सङ्घको ३० औं चुनावी साधारणसभाबाट प्रितम खड्गी अध्यक्षमा विजयी भएका छन् । खड्गी नेपाली काङ्ग्रेसको समर्थनमा उम्मेदवार बनेका थिए । अघिल्लो निर्वाचनमा चन्द्रबहादुर भट्टराईसँग ९५ मतान्तरले पराजित भएका खड्गीले तिनै भट्टराईलाई ६७ मतको अन्तरले पराजित गरी विजयी भएका हुन् । विजयी खड्गीले ८ सय ४४ मत तथा उप–विजेता भट्टराईले ७ सय ७७ मत प्राप्त गरेका थिए । उपविजेता भट्टराई नेकपाको समर्थनमा उम्मेदवार बनेका थिए । यसैगरी वरिष्ठ उपाध्यक्षमा विनोद न्यौपानेले ७ सय ७७ मत, उद्योग उपाध्यक्षमा यामलाल रसाइलीले ८ सय ८० मत, वाणिज्य उपाध्यक्षमा शेरबहादुर भण्डारीले ८ सय ७० मत, महासचिवमा रामबहादुर थापाले ८ सय ३७ मत, उद्योग सचिवमा सम्झना खतिवडा आचार्यले ८ सय २७ मत, वाणिज्य सचिवमा नेत्रप्रसाद आपागाईले ८ सय ६९ मत तथा कोषाध्यक्षमा सुनिल बोहोराले ८ सय ३२ मत प्राप्त गरी विजयी भए । यसैगरी कार्य समितिको सदस्यहरुमा डिल्ली खतिवडाले ८ सय ७०, निर्मला चौहानले ७ सय ६२, कृष्णराज गिरी ७ सय ४५, योगेन्द्र निरौलाले ६ सय ९७, यज्ञबहादुर बस्नेतले ६ सय ८३ तथा लेखा समितिको संयोजकमा केदार रिजालले ८ सय ३०, लेखा सदस्यमा बिनिता दाहालले ८ सय २६ र लेखा सदस्यमा जङ्गबहादुर कार्कीले ७ सय १३ मत प्राप्त गरी विजयी भएको मङ्गलबार साँझ ८ बजे निर्वाचन समिति घोषणा गरेको हो । विगतमा काङ्ग्रेस समर्थक मात्र अध्यक्ष पदमा विजयी हुँदै आए तापनि ६ वर्षअघिदेखि प्रगतिशील समूहले अध्यक्ष पद हत्याएपछि सत्ताबाट टाढिएको काङ्ग्रेसको विरासतलाई यसपटक खड्गीको विजयले फर्काएको पूर्वअध्यक्ष तेजकुमार रिजालले बताए । सोमबारको निर्वाचनमा १ हजार ८ सय ७८ मतदातामध्ये १ हजार ७ सय ४३ जनाले मतदान गरेका थिए ।