धनकुटा । जनताले तिर्नै नसक्ने गरी कर वृद्धि गरेकाले घटाउन माग गर्र्दै सोमबार धनकुटाको पाख्रिवास नगरपालिकामा नेपाली काङ्ग्रेसलगायत लोकतान्त्रिक गठनबन्धनको नेतृत्वले नगरपालिका घेराउ गर्दै ज्ञापन–पत्र बुझाएका छ । पाख्रिवास बजारको मूलचोकमा भेला भई नाराजुलुससहित वृद्धि गरिएको कर तत्काल घटाउन माग गरे । नेपाली काङ्ग्रेस धनकुटाका सचिव विजयसन्तोषी राई, कोषाध्यक्ष दिनेश राई, संयोजक तथा जिल्ला सदस्य ज्ञानबहादुर गुरुङ, राप्रपा प्रजातान्त्रिक पाख्रिवास नगर अध्यक्ष कृष्ण थापा, सङ्घीय समाजवादी फोरमका केवल देवानलगायतले जनताले तिर्नै नसक्ने गरी कर अत्यधिक वृद्धि गरेको बताए । नेपाली काङ्ग्रेस पाख्रिवास नगर कार्य समितिका सभापति कोपिन मानन्धरको अध्यक्षतमा भएको नगरपालिका घेराउ तथा कोण सभा कार्यक्रममा नेपाली काङ्ग्रेसका जिल्ला सदस्यहरू गोरखबहादुर पिठाकोठे मगर, कमला भुजेल, नेपाल तरुण दल क्षेत्र नं. २ का अध्यक्ष तिलक महत, नेवि सङ्घ धनकुटा बहुमखी क्याम्पसका अध्यक्ष सरोज धमला क्षेत्रीय सदस्य ज्योती गुरुङ, गङ्गा गुरुङ, श्यामप्रकाश राई, भक्त गुरुङ, राप्रपाका क्षेत्रीय अध्यक्ष श्याम गुरुङ, लक्ष्मी थापालगायत पाख्रिवास नगरवासी र नेपाली काङ्ग्रेस, राप्रपा प्रजातान्त्रिक, सङ्घीय समाजवादी फोरमका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो । नगर कार्यपालिका कार्यालयमा दुई घण्टासम्म धर्ना दिइँदै निमित्त कार्यकारी अधिकृत महेन्द्र रानालाई ज्ञापन– पत्र बुझाइएको थियो ।