विराटनगर । बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकले सेवा सुविधा वृद्धि गर्नुपर्ने माग राख्दै विराटनगर महानगरपालिको कार्यालयमा धर्ना दिएका छन् । उनीहरूले नेपाल बाल विकास शिक्षक सङ्घर्ष समिति बनाएर सोमबार महानगरपालिकाको गेट अगाडि धर्ना दिएका हुन् । सरकराले १३ वर्षदेखि कायम गरिएको ६ हजार रुपैयाँ तलब एक दशकभन्दा बढी हुँदा पनि सेवा सुविधा नबढाएको भन्दै आन्दोनमा उत्रिएको सङ्घर्ष समितिका अध्यक्ष लीला धमलाले बताए । उनले प्रावि स्कुलमा अध्यापन गराउने शिक्षक सरहको तलब बाल विकास केन्द्रमा अध्यापन गराउने शिक्षकहरूको हुनुपर्ने माग गरिन् । त्यस्तै प्रारम्भिक बालविकास केन्द्रलाई शिक्षा ऐनमा संशोधन भएका विषय कानुनमा उल्लेख गर्नुपर्ने, बालविकास केन्द्रको सट्टा बालविकास शिक्षा आधारभूत तह बनाउनुपर्ने उनीहरूले माग राख्दै महानगरपालिकामा धर्ना दिएका दिएका थिए । बाल विकास केन्द्र स्थानीय तह अन्तर्गत सञ्चालन हुने भएकाले उनीहरूले महानगरपालिकाले सेवा सुविधा बढाउनुपर्ने माग राख्दै धर्ना दिएका हुन् । ५ वर्षमुनिका साना बालबालिकालाई स्थानीय समुदायमा रहने बाल विकास केन्द्रमा राखेर अध्यापन गराउँदै आइएको छ । एक जना शिक्षकले २० जना बालबालिकालाई अध्यापन गराउनुपर्ने हुन्छ । शिक्षकहरूले दैनिक ४ घण्टा अध्यापन गराउने गरेका छन् । यसैबीच मोरङको मिक्लाजुङ गाउँपालिकामा कार्यरत बाल विकास शिक्षकहरूले सोमबार मिक्लाजुङ गाउँपालिकामा धर्ना दिएका छन् । पेशागत सुरक्षाको माग गर्दै मिक्लाजुङ गाउँपलिकामा धर्ना गरिएको बाल विकास शिक्षक सङ्घ मिक्लाजुङ संयोजक रमा कोइराला आचार्यले बताइन् । सोमबार देशभरनै नगरपालिकामा धर्ना गरिएको थियो । गाउँपालिकामा २ घण्टा धर्ना गरिएको थियो । धर्नापछि गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्य , शिक्षा विभाग संयोजक बुद्धिलाल निरौला, शिक्षा अधिकृत काशिनाथ खनाललाई आफ्ना मागका बारेमा जानकारी गराएको धर्नामा सहभागी मञ्जु बोहोराले जानकारी दिइन् ।