पथरीशनिश्चरे ।  झापाको दमकमा वस्दै आएका भुटानी शरणार्थी अगुवा डाक्टर भम्पा राई र उनकी श्रीमती उर्मिला राईको उपचारका लागी बेलायतबाट आर्थिक सहयोग प्राप्त भएको छ । भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती अभियानका संयोजक डाक्टर राईका साथै उनकी श्रीमती उर्मिलाका लागि पछिल्लो पटक बेलायतको रिडिङमा बस्दै आएका गजेन्द्र गुरुङको संयोजकत्वमा रहेको आर्थिक सङ्कलन समितिले १ लाख ७८ हजार ९ सय ७० रुपैयाँ सहयोग उपलब्ध गराएको हो । भुटानी शरणार्थीका लागि निःशुल्क उपचारमा संलग्न राईको आफ्नो उपचारमा भने आर्थिक सङ्कट परेपछि स्वतस्फूर्त सहयोग जुटिरहेको छ । यसअघि प्रधानमन्त्री कार्यालयबाट १० लाख, प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत रूपमा १ लाख, जिल्ला समन्वय समिति झापाबाट १ लाख र दमक नगरपालिकाले ५० हजार रकम सहयोग प्रदान गरेका थिए । दुई महिना अघि राईको आन्द्रामा समस्या भएपछि भारतको सिलिगुढीस्थित एक अस्पतालमा शल्यक्रिया गरिएको थियो । राई अझै पनि पूर्ण रूपमा ठीक भइसकेका छैनन् । श्रीमती उर्मिलाको पनि दुबै मृगौला खराब छन् । अहिले श्रीमती राईको बिर्तामोडस्थित बिर्तासिटी हस्पिटलमा नियमित डायलोसिस हुँदै आएको छ । सन् १९९१ मा दक्षिण भुटानबाट नेपाली भाषी भुटानी नागरिक लखेटिएसँगै भुटानका सरकारी अस्पतालका सर्जन डाक्टर राई पनि दमकमा नै शरणार्थी जीवन बिताउँदै आएका छन् ।