यासोक । सर्वोच्च शिखर सगरमाथा आरोही पत्रकार देउराली चाम्लिङलाई सम्मान गरिएको छ । पाँचथरको कुम्मायक–१ यासोक निवासी देउराली चाम्लिङले गत जेठ ९ गते सगरमाथाको चुुचुरोमा पाइला टेकेकी थिइन् । पाँचथर जिल्लाकै एक मात्र महिलाको प्रतिनिधित्व गर्दै सगरमाथाको चुचुरोमा पुग्न सफल भएको भन्दै नेपाल अदिवासी जनजाति महासङ्घ कुम्मायक गाउँपालिकाले एक कार्यक्रमको आयोजना गरी उनलाई सम्मान गरेको थियो । सम्मान ग्रहण गर्दै उनले आफ्नो जन्मथलो कुम्मायकवासीको सहयोगले आफू सगरमाथाको आरोहण गर्न सफल भएको भन्दै गाउँपालिकावासीलाई सम्झिरहेको बताइन् । कुम्मायक–कुस्सायको आशिर्वाद र कुम्मायकवासीको सहयोगले आफू सफल पर्वतारोही भएको देउरालीले बताइन् । कार्यक्रमको प्रमुख अतिथि कुम्मायक गाउँपालिकाकी उपाध्यक्ष सीता आचार्यले जिल्लाकै एकमात्र सगरमाथा आरोही महिला पत्रकार देउराली चाम्लिङले कुम्मायक गाउँपालिकालाई ठूलो इज्जत दिएको भन्दै उनको हिम्मत र आँटको खुलेरै प्रसंशा गरेकी थिइन् । उनले एक्काइशौंं शताब्दीमा पनि महिलाहरू चुलाचौकामा मात्रै सिमित भएको अवस्थामा एउटी महिला सगरमाथाको चुचुरोमा पुग्नु गौरवको कुरा रहेको आचार्यले बताइन् । इच्छा शक्क्ति भए महिलाले पनि जस्तो सुकै कठिनभन्दा कठिन काम गरेर उदाहरणीय बन्न सक्ने यो एउटा गतिलो उदाहरण भएको उनले बताइन् । कार्यक्रममा १ नम्बर वडा अध्यक्ष देवेन्द्रकुमार लावतीले गाउँपालिकाको एउटा दुर्गम गाउँमा जन्म लिएर पनि सफलताको शिखर सगरमाथाको सफल आरोहण गर्ने हिम्मत, जोस र जाँगर देखाएको भन्दै शुभकामना व्यक्त गरे । कार्यक्रममा जनप्रतिनिधि, राजनीतिक दल, नागरिक समाजलगायतले सगरमाथा सफल आरोही देउराली चाम्लिङलाई बधाई ज्ञापन गरेका थिए । कार्यक्रम नेपाल आदिवासी जनजाति महासङ्घ कुम्मायक गाउँपालिका अध्यक्ष तारानाथ सुब्बाको अध्यक्षतामा सम्पन्न भएको थियो ।