पथरीशनिश्चरे । नेपाली साहित्यमा पछिल्लो समयमा गजल विधामा बढेको लहर शैक्षिक संस्थाहरूमा पनि उसैगरी बढ्न थालेको छ । यस क्रममा गजलप्रतिको विद्यार्थीको रुचीलाई ध्यानमा राखेर मोरङको उर्लाबारीस्थित सप्तकोशी अङ्ग्रेजी आवासीय माध्यामिक विद्यालयले गजल कार्यशाला राखेको छ । विद्यालयकी संस्थापक एवम् साहित्यकार मिश्र वैजयन्तीले पूर्वाञ्चलका गजल अभियन्ता विवश वलिभद्र कोइराला र भूपेन्द्र तिम्सिनामार्फत् गजल कार्यशाला राखेकी हुन् । सो विद्यालयले बेला–बेला गजल कार्यशाला गर्ने क्रममा यो पटक शुक्रबार कक्षा–११ का विद्यार्थीहरूमाझ गजलको परिभाषा, इतिहास, गजलको स्वरुप, तत्वहरूका बारेमा जानकारी गराइएको छ । सहजकर्ताहरूले आफ्ना, चर्चित गजलकारका तथा कार्यशालामा सहभागिका गजलहरु प्रस्तुत गर्दै गजल साहित्यका बारेमा विमर्श समेत गराए । उनीहरूले गजललाई साहित्यिक अभिव्यक्तिको सस्तो माध्यम नबनाई छोटो संरचनामा प्रभावपूर्ण र वृहत अभिव्यक्तिको माध्यमका रूपमा लानुपर्ने सुझाए । कार्यशालामा सहभागीले गजल वाचन समेत गरेर गजल लेखनप्रतिको रुची व्यक्त गर्दै सिर्जनशीलतामा मन लगाएकोप्रति विद्यालयका प्रिन्सिपल लेखनाथ भट्टराईले खुसी व्यक्त गरे । कार्यशालामा झण्डै १ सय विद्यार्थी सहभागी थिए ।