सिरहा । सिरहामा लैङ्गिक हिंसा, जबरजस्ती करणी, साइबर अपराध, मानव बेचविखन, मानव अपहरण, लागूऔषध प्रयोग तथा ओसारपसारलगायत अपराधहरू तथा सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लास्तरीय संवाद कार्यक्रम गरिएको छ । जिल्लास्तरीय सरोकारवाला निकायहरू बीच अन्तरक्रिया तथा संवाद कार्यक्रममा सरोकारवालाले लागूऔषधको प्रयोग, बलात्कार, साइबर अपराधजस्ता घटना बढ्दै गइरहेकाले न्यूनीकरणमा जोड दिनुपर्ने बताए । संवाद कार्यक्रममा विष्णुपुर गाउँपालिका प्रमुख जागेश्वर यादव, औरही गाउँपालिका उपप्रमुख सीता यादवलगायत पत्रकार र अधिकारकर्मीहरूको उपस्थिति रहेको थियो । भगवानपुर गाउँपालिका प्रमुख जागेश्वर यादवले लागूऔषध सीमा क्षेत्रमा व्यापक प्रयोग भइरहेकाले त्यसलाई रोक्न सबैले पहल गर्नु पर्ने बताएका छन् । जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख एसपी जीवनकुमार श्रेष्ठले लागूऔषध न्यूनीकरणको लागि सिमावर्ती भारतका प्रशासनसँग समन्वय गरिरहेको बताए । नेपालमा प्रयोगकर्ताले लागूऔषधका रूपमा प्रयोग गर्ने औषधि भारतमा नियन्त्रित नभएकाले पनि नेपालमा नियमन गर्न नसकेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।