बिर्तामोड । विद्यालयबाट घर फर्किदै गरेका बालिकामाथि बलात्कारको प्रयास गरेको आरोपमा प्रहरीले झापाको अर्जुनधारा–१ का तीनजना युवालाई पक्राउ गरेको छ । विद्यालयबाट घर फर्किदै गरेका बालिकामाथि जङ्गलको बाटो ढुकेर बलात्कारको प्रयास गरेको अभियोगमा खुदुनाबारी–१ का धनबहादुर राई, गङ्गा रसाइली र देवकुमार राईलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका युवाले जङ्गलको बाटो छेकेर पटक–पटक आफूहरुमाथि अभद्र व्यवहार गर्ने गरेको पीडितले बताएका छन् । गत शुक्रबार विद्यालयको पढाइ सकिएपछि घर जाँदै गरेका उनीहरुमाथि पक्राउ परेका युवासहितको समूहले अश्लील शब्द बोल्दै बाटो छेकेको गुनासो पीडितको छ । इलामको रोङ गाउँपालिका–२ घर भएका पीडित बालिकाहरु अर्जुनधारा–१ को सिंहदेवी माविमा कक्षा ९ र १० मा अध्ययन गर्दै आएका छन् । उनीहरुले दैनिक ४ किलोमिटरको दूरी पार गर्दै सो विद्यालयमा अध्ययन गर्न आउने गरेका छन्् । बाटोको १ किलोमिटरभन्दा धेरै स्थानमा घना जङ्गल पर्ने भएका कारण पीडकले सोही ठाउँमा बसेर बालिकाहरूमाथि बलात्कारको प्रयास गरेका हुन् । पटक–पटक बाटो छेकेर अश्लील शब्द बोल्दै दुव्र्यवहार गर्न खोजेपछि बालिकाहरूले विद्यालयमा उजुरी दिएका थिए । शुक्रबार पनि ‘आज योजना असफल भयो’ भनेर अश्लील शब्द बोल्दै फर्किएपछि त्रसित बनेका उनीहरूले विद्यालय प्रशासनमा उजुरी दिएका थिए । बालिकाहरु ९ जनाको समूहमा भएका कारण चारजनाको संख्यामा आएका पीडकले योजना असफल भयो भनेको हुनसक्ने पीडित बालिकाको अनुमान छ । पीडकले अर्काे दिन प्रयास गर्ने भन्दै फर्किएपछि त्रसित भएका बालिकाले विद्यालयमा गुनासो गरेसँगै विद्यालय प्रशासनले प्रहरी कार्यालयमा उजुरी हालेको प्रधानाध्यापक खड्गबहादुर तामाङले बताए । विद्यालयको उजुरीका आधारमा प्रहरीले घटनामा संलग्न भएको आरोपमा तीन युवालाई पक्राउ गरेको हो । प्रहरीले घटनामा संलग्न अन्यको खोजी भइरहेको तथा घटनाको अनुसन्धान शुरु गरेको जनाएको छ ।