रङ्गेली । पचास वर्षदेखि विराटनगरमा निरन्तर निकालिँदै आएको ऐतिहासिक राधाकृष्ण रथयात्रा भव्य रूपमा निकालिने भएको छ । राधाकृष्ण रथयात्रा समारोह समितिले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरी भदौ १८ गते रथयात्रा निकालिने जानकारी दिएको हो । कृष्ण जन्माष्टमीको भोलिपल्ट रथयात्रा निकाल्ने गरिएको छ । रथ यात्राका लागि १९ वटा उपसमिति गठन गरिएको अध्यक्ष बाबुराजा ओझाले बताए । राधाकृष्ण मन्दिरबाट निकालिने रथयात्रा मेनरोडहुँदै महेन्द्र चौक, धरानरोड, वरगाछीहुँदै मन्दिरमा पुगेर समापन गरिनेछ । पेगोडा शैलीमा निर्माण गरिएको रथ २२ फिट लामो १४ फिट चौडा र १८ फिट अग्लो छ । रथ तान्नका लागि जुवाबाट ७५ फिट लामो जोडी लठ्ठा रहनेछन् । रथयात्राले ५० वर्ष पूरा गरेको अवसरमा घोडाको प्रयोग गरी तानिने गरी बग्गीको समेत व्यवस्था मिलाइएको आयोजकले जनाएको छ । विगत वर्ष झैं यसवर्ष पनि हेलिकप्टरबाट पुष्पगुच्छा वर्षाइनेछ । रथयात्राको उद्घाटन पहिलो पटक प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले गर्ने कार्यक्रम छ । यसैबीच स्वर्गीय पोखरमल राठीको स्मृतिमा राठी परिवारबाट स्थापना गरेको ‘पोखरमल धर्मसंस्कृति पुरस्कार’ विराटनगर–३ स्थित परोपकार अभियान समूहलाई प्रदान गरिने भएको छ । राधाकृष्ण रथयात्राको अवसरमा प्रदान गरिने पुरस्कारको राशि १ लाख १ हजार रहेको छ । युगल राधाकृष्णको रथयात्रा हेर्न नेपाल र भारतका सयौं भक्तजन विराटनगर आउने गरेका छन् । रथयात्राको दिन प्रदेश १ सरकारले मोरङ र सुनसरीमा सार्वजनिक बिदा घोषणा गरेको छ ।