ताप्लेजुङ । ताप्लेजुङको ओलाङ्चुङगोला गाविसस्थित साढे चार सय वर्ष पुरानो दिकि–छ्योलिङ गुम्बाको संरक्षण हुन नसक्दा जीर्ण बन्दै गएको छ । सयौं वर्ष पुराना बहुमुल्य धातु जडित मूर्ती क्रमशः हराउँदै जाँदा गुम्बाको महत्वसमेत घट्दै गएको छ । उचित संरक्षण र प्रचारप्रसारको अभावमा ताप्लेजुङको ओलाङ्चुङगोला गाविसमा रहेको नेपालकै पुरानो मानिने दिकि–छ्योलिङ गुम्बा जीर्ण बन्दै गएको छ । करिव ४ सय वर्ष पुरानो यो गुम्बा पुनर्निर्माण हुन सकेको छैन ।
गुम्बा पुनर्निर्माणसँगै यसको प्रचारमा सम्बन्धित निकायको चासो नदेखाउँदा पर्यटकीय क्षेत्र भए पनि ओझेलमा परेको छ । ब्रिटिस नागरिक डाक्टर हुकुमले १८५५ सालमा लेखेअनुसार गुम्बा करिब साढे चार सय वर्ष पुरानो भएको स्थानीय लामा छण्डुक शेर्पाले बताए । “ ब्रिटिस नागरिक डाक्टर हुकुमले १८५५ सालमा लेखेका रहेछन् । त्यसबाट नै गुम्बा करिब साढे चार सय वर्ष पुरानो हो भन्ने थाहा हुन्छ ।” शेर्पाले भने । गुम्बामा लगातार एउटा दियो बालिँदै आएको छ ।
गुम्बाका लामाहरु यो दियो स्थापना कालदेखिनै लगातार बालिँदै आएको बताउँछन् । गुम्बामा बौद्ध धर्मसम्बन्धी ५ हजारभन्दा बढी धर्मग्रन्थ रहेका छन् । पटकपटकको भूकम्पले गुम्बाको दक्षिण र पूर्वपट्टिको भागसमेत भत्किएको छ । स्थानीयबासिन्दाले ऐतिहासिक गुम्बालाई विश्वसम्पदा सूचीमा सुचिकृत गर्ने पहल गरिदिन विभिन्न सरकारी निकायलाई घच्घच्याइरहे पनि कुनै चासो नदेखाएको आरोप लामा छण्डुकले लगाए । “यस्तो ऐतिहाँसिक गुम्वालाइृ विश्व सम्पदा सुचिमा सुचिकृत गर्नुपर्ने हो तर अहिले सम्म कसैले पनि चासो देखाएका छैनन् ।” शेर्पाले सुनाए ।
गुम्बामा बहुमुल्य धातु जडित विभिन्न मूर्ति र सामान भए पनि संरक्षणको अभावमा हराउन थालेका छन् । अहिलेसम्म यहाँका १२ वटा बहुमूल्य मूर्ति हराएको स्थानीयको भनाइ छ । गुम्बाको रेखदेख गर्दै आएका दोर्जे पराले २०२७ सालमा एक पटक र ज्ञानेन्द्र शाह राजा भएका बेला दोस्रो पटक सरकारी कर्मचारीले यहाँका केही सामान हेलिकोप्टरमार्फत काठमाडौंको स्वयम्भूपछिको भागमा सुरक्षित राख्ने भन्दै लगेको तर ती सामान अहिलेसम्म नदेखिएको बताए । ९० फिट अग्लो ३ तले गुम्बामा अहिले पनि बौद्ध धर्मअनुसार नियमित पूजाआजा हुने गरेको छ । यो स्थानमा वर्षको एक दिन नेपालका विभिन्न जिल्ला र तिब्बतबाटसमेत लामा आएर पूजाआजा गर्ने चलन छ । तर ऐतिहासिक र पुरातात्विक स्थलको संरक्षणमा सरकारले चासो नदेखाउँदा लोप नै हुने अवस्थामा पुगेको छ ।