पानवारी । महिला उद्यमीहरुलाई प्रवद्र्धन गर्ने उदेश्यले धरानमा महिला उद्यमी मेला लाग्ने भएको छ ।

महिला सञ्जाल धरानको आयोजनामा धरानको सैनिक भवनमा यही भदौ १७, १८ र १९ गते हुने महिला उद्यमी मेला–२०७५ मा महिलाहरुले उत्पादन गरेका वस्तुहरुको प्रबद्र्धन तथा खरिद विक्री गरिने महिला सञ्जालले बुधबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको छ । महिला उद्यमीहरुले उत्पादन गरेका सामाग्रीहरुलाई बजारीकरण गर्दै स्वरोजगारका लागी सम्भावनाहरु सृजना गर्ने उद्देश्यले मेलाको आयोजना गरेको महिला सञ्जाल धरानकी अध्यक्ष सविता राईले बताइन् ।

महिलाहरुले धुमधामसँग मनाउने हरितालिका तिज विशेष कार्यक्रममा सधै नाचगान र भोजभतेर मात्र हुने गरेको भन्दै यसवर्षदेखि महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर बनाउन तथा महिला उद्यमीले उत्पादन गरेको सामानलाई एक अर्काबीचमा खरिद बिक्री गरी प्रयोग गर्ने कार्यक्रममा उदेश्य रहेको अध्यक्ष राईले बताइन् ।

मेलामा महिला उद्यमीहरुले उत्पादन गरेका हस्तकलाका सामाग्रीहरु, जुत्ता चप्पल, साडी, कुर्ता, हाते झोलाहरु, अर्गानिक तरकारी, नेपाली खाजाका परिकारहरु, स्थानीय तयारी खाद्यान्न सामाग्रीहरु गरी ३० वटा स्टल रहने जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । मेलामा तिज विशेष नृत्य प्रस्तुती गरिने साथै विजेतालाई पुरस्कृत समे गरी जानकारी दिइएको छ । त्यस्तै मेलाको आकर्षणको रुपमा तिज विशेष सामाग्रीहरु महिलाका पहिरन र श्रृङ्गारका सामाग्रीहरु रहनेछन् । मेलामा महिला उद्यमीलाई व्यवसायीक बनाउन का लागी उत्पादित बस्तुको सम्भावित बजार र चुनौति विषयक व्यापारी र व्यवसायीहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको सञ्जालकी सचिव कोपिला भट्टराईले जानकारी दिएकी छन् । मेलामा धरानका मात्र नभइ इटहरी र विराटनगरका महिला उद्यामीहरुको सहभागिता हुने सञ्जालले जनाएको छ ।

हामी महिलाहरु तिजमा विभिन्न किसिमका श्रृङ्गारका सामाग्री देखि पहिरनका सामानसम्म खरिद गरिने भएकोले यस पटकको तिजको किनमेल आफैले उत्पादन गरेका वस्तुहरु प्रयोग गरेर प्रवद्र्धन गर्दा उद्यमी महिलाहरुलाई ठूलो सहयोग पुग्ने सञ्जालकी बरिष्ठ उपाध्यक्ष चेतना श्रेङले बताइन् । कार्यक्रममा सामाजिक विकास मन्त्रालय, धरान उपमहानगरपालिका, उद्योग वाणिज्य संघ, घरेलु तथा साना उद्योग कार्यालय लगायतको सहयोग रहने छ भने ५ लाख ३० हजारको लागतमा कार्यक्रम सम्पन्न गर्ने लक्ष्य रहेको सचिव कोपिला भट्टराईले बताइन् ।