तेह्रथुम/ म्याङलुङ नगरपालिकाले ज्येष्ठ नागरिकहरूको सम्मान स्वरूप प्रत्येक शुक्रबार स्वास्थ्य परीक्षण गर्न शुरु गरेको छ । नगरपालिकाको आर्थिक सहयोगमा सदरमुकामस्थित म्याङलुङ बजारको रेडक्रस चोकमा निर्माण गरिएको वृद्धचौतारी स्थलमा स्वास्थ्य परीक्षण शुरु गरिएको हो । स्वास्थ्य परीक्षणमा पहिलो दिन ६६ जना ज्येष्ठ नागरिकले स्वास्थ्य परीक्षण गरेका छन् ।

नगरपालिकाले ज्येष्ठ नागरिकको सम्मानका लागि प्रत्येक शुक्रबार बिहान १० बजेदेखि १ बजेसम्म म्याङलुङ नगरपालिकाको आर्थिक सहयोगमा स्वास्थ्य परीक्षण गर्न शुरु गरेको पहिलो दिन १५ जना महिला र ५१ जना पुरुष गरी जम्मा ६६ जनाको स्वास्थ्य परीक्षण गरिएको शिविरमा सहभागी सिनियर अहेब सुरेन्द्र सङ्ग्रौलाले बताए । उनका अनुसार स्वास्थ्य परीक्षण गर्ने ज्येष्ठ नागरिकहरू मध्ये सुगर, दम, प्रेसर घुँडा दुख्ने, कान र आँखा समस्या भएका ज्येष्ठ नागरिकहरूको सहभागिता रहेको थियो । ज्येष्ठ नागरिकहरूलाई स्वास्थ्य परीक्षणसँगै सुगर, दम, प्रेसर घुँडा दुख्ने, कान र आँखा समस्या देखिएकाले औषधिसमेत वितरण गरिएको शिविरमा सहभागी अहेब कुमार लिम्बूले बताए । नगरपालिकाको सहयोगमा ज्येष्ठ नागरिहरूलाई स्वास्थ्य परीक्षण शुरु गरेर हौसला बढाएको केदार ढुङ्गानाले बताए ।