विजयपुर । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बालबालिकाको मृगाौलासम्बन्धी रोगको उपचार शुरु भएको छ । प्रतिष्ठानको बालरोग विभागमा बालबालिकाको मृगौलासम्बन्धीका विशेषज्ञ डाक्टर आएपछि प्रतिष्ठानले सेवा शुरु गरेको हो । प्रतिष्ठानमा बालमृगौला विशेषज्ञका रूपमा डा.शङ्करप्रसाद यादव आएपछि सेवा शुरु गरेको प्रतिष्ठानका निर्देशक गौरीशङ्कर शाहले जानकारी दिए ।

डा. यादव काठमाडौंबाहिरका एक्ला बालमृगौला रोग विशेषज्ञ हुन् । डा. यादवले अस्पतालमा सेवा शुरु गरेको पाँच महिनानै मृगौलासम्बन्धी समस्या भएका करिव दुई सयजना बच्चाहरूको उपचार भएको छ । डा. यादवका अनुसार पहिले उपचार हुन नसकेर अन्यत्र गएका ६० जना बालबालिकाहरू पुनः प्रतिष्ठानमै आएर उपचार शुरु भएको छ । ‘उनीहरूको उपचार सफल भइरहेको छ, अब बालबालिकाको पिसाबको सङ्क्रमण, पिसाबबाट प्रोटिन तथा रक्तकोषिका जाने समस्या र मृगौलाको एक्युट र क्रोनिक जस्ता समस्याको उपचार भइरहेको छ’ –डा. यादवले ब्लाष्टसँग भने । ‘बालबालिकाहरूमा थाहा नै नपाइकन यस्ताखाले समस्याहरू आइरहेका छन् । रोग पत्ता नलाग्दा र उपचार गर्ने ठाउँ नहुँदा बच्चा र अभिभावकलाई धेरै समस्या भइरहेको छ’ प्रतिष्ठानका एसिष्टेण्ट प्रोफेसरसमेत रहेका डाक्टर यादव भन्छन्, ‘अब त्यस्ता समस्याका बारेमा प्रतिष्ठानमा उपचार शुरु भएको छ, यो हाम्रो लागि मात्र हैन, प्रतिष्ठानबाट सेवा लिने सबैको लागि खुसीको कुरा हो ।’ डा. यादवले धरानको विजयपुर स्कुलबाट एसएलसी पास गरेका थिए भने एसएलसीअगाडिको पढाइ धरानकै सिद्धार्थ शिशु सदनमा गरेका थिए । प्रतिष्ठानभित्र रहेको दिल्ली पब्लिक स्कुलबाट प्लस टु गरेका उनले एमबीबीएस र एमडी प्रतिष्ठानबाट नै गरेका थिए । बाल मृगौलामा विशेषज्ञता भने उनले बेैङ्लोरको सेन जोन्स मेडिकल कलेजबाट गरेका थिए । ‘मैले प्रतिष्ठानमा बाल मृगौलासम्बन्धी सुविधा दिन प्रयास गरिरहेको छु, मेरै पहलमा बाल मृगौलाको उपचारसम्बन्धी जनशक्ति व्यवस्थापन गर्न एक जना नर्सलाई बैङ्लोरमै तालिमसमेत दिइ सकिएको छ । हामी विस्तारै टिम पनि तयार गर्दैछौं’ डा. यादवले भने, ‘अहिले हामीलाई यस सम्बन्धी ल्याव र डायलाइसिस गर्ने उपकरणहरू चाहिएको छ, अस्पताल प्रशासनले यसलाई पूरा गर्न पहल गरिरहेको छ ।’ प्रतिष्ठानका अस्पताल निर्देशक गौरीशङ्कर शाहले यो सेवालाई चुस्त बनाउन आफूहरूले तयारी थालेको बताए ।