भद्रपुर ।  साइकलमा भारततर्फ लैजाँदै गरेको अन्दाजी २ सय किलो हरियो मटरसहित चारजना भारतीय कारोबारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको गस्ती टोलीले भद्रपुर–४ झिलीमिली चोकबाट सामानसहित नियन्त्रणमा लिएको हो ।

साइकलमा राखेर भारत लैजाँदै गरेका भारत गलगलियाका २८ वर्षीय रमेश महतो, ३५ वर्षीय विजय यादव, वर्ष ४८ को विनायक महतो र ५० वर्षीय रामबाबु कामती रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनीहरुलाई शुक्रबार साँझ साइकलसहित सामग्री नियन्त्रणमा लिई मेची भन्सार कार्यालय काँकडभिट्टा पठाइएको जिल्लाका डिएसपी तथा प्रवक्ता जितेन्द्रकुमार बस्नेतले जानकारी दिए । बरामद सामग्रीको अन्दाजी मूल्य १६ हजार रहेको प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यालय बनियानीले ४५ हजार मूल्य बराबरको अवैध सामग्री बरामद गरेको छ । प्रहरी गस्ती टोलीले साविक बालुबाडी गाविस हाल कचनकवल ४ बाट शनिबार बिहान भारतबाट नेपाल ल्याउँदै गरेको स्टेशनरी, सुर्तीजन्य पदार्थ, खाद्यान्नलगायतका सामग्री बरामद गरिएको बस्नेतले जानकारी दिए ।

सामान छाडेर कारोबारी भागेकोले फेला पार्न नसकिएको उनले जनाए । चाडपर्वलाई लक्षित गरी कारोबारीले झापामा चोरी निकासी पैठारीलाई तीव्रता दिएपनि ठूलो परिमाणमा भने प्रहरीले सामान बरामद गर्न सकेको छैन ।