बिर्तामोड । गृह मन्त्रालयले झापा जिल्लालाई सुरक्षाको दृष्टिले नमुना जिल्ला बनाउन निर्देशन दिएको छ । नमुना जिल्ला बनाउन प्रहरीले ‘प्रारम्भिक सुरक्षा अभिमुखिकरण अभियान’ शुरु गरेको झापाका एसपी भिम प्रसाद ढकालले जानकारी दिएका छन् । ‘गृह मन्त्रालयले देशभरका ७७ मध्ये झापा जिल्लालाई नमुना जिल्ला बनाउने भन्दै अभियान शुरु गर्न निर्देशन दिएको छ, एसपी ढकालले भने–‘झापा प्रहरीले पनि त्यसको तयारीका लागि बिभिन्न स्थानको तथ्यांक संकलन गरिसकेको छ, अब हामी अभिमुखिकरण कार्यक्रम शुरु गर्न लाग्दैछौं ।’ ढकालले झापाका ८ सय जना सुरक्षाकर्मीलाई शान्ति सुरक्षा स्थापनाका लागि तालिम दिइने बताए । ‘त्यसका लागि ११ जना अधिकृतलाई पहिले प्रशिक्षकको तालिम दिइन्छ, त्यसपछि ति प्रशिक्षकले ८ सयजना सुरक्षाकर्मीलाई सुरक्षाको तालिम दिएर तयार बनाउने योजना रहेको छ, ढकालले भने–‘जिल्लाका प्रमुख स्थानमा सुरक्षाका लागि सचेतना, निगरानी, अध्ययन र अनुसंधानका लागि खटिएका प्रहरीको भुमिका अहिलेको भन्दा प्रभावकारी रहने आशा छ ।’ प्रहरीले ३ सय ३१ सरकारी कार्यालय, २ सय ६ गैरसरकारी, बैंक १ सय ६०, बित्तीय संस्था ४ सय ७, सुनचाँदी पसल ६ सय २१, १७ डिपार्टमेन्ट स्टोर्स, १ सय २१ उद्योग, ५८ प्रतिष्ठान र ५ सय ६३ बिद्यालयमा अभियान लागू हुने प्रहरीले जनाएको छ । अभियानबाट सुरक्षा चुनौती पहिचान हुने, बित्तिय क्षेत्रको सुरक्षा समस्या समाधान हुने, सम्बन्धित कार्यालयले सुरक्षाको मापदण्ड पुरा गर्न प्रेरित हुने र त्यस्ता निकायको ब्यवस्थापनमा समेत सुधार आउने प्रहरीको बिश्वास छ । झापाको १ सय १८ किलोमिटर भारतसँग सिमाना जोडिएको छ । खुल्ला सिमानाका कारण प्रहरीले अघि सारेको सुरक्षा अभियान पुरा हुनेमा शंका उत्पन्न हुने ठाँउ प्रशस्त छ । संवेदनशिलताका बाबजुत पनि सुरक्षाका दृष्टिले नमुना जिल्ला घोषणा गर्न तयारी रहेको झापामा अभियान पुरा गर्न प्रहरी कस्सिएर लागेको छ ।