पाँचथर । जिल्लाको याङवरक गाउँपालिका–३, ओयाममा चिकित्सकको लापरबाहीले प्रशुती गराउँन ल्याइएकी महिलाको मृत्यु भएको भन्दै आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
याङवरक गाउँपालिका–३, साम्माङखुका मनिष सेलिङको श्रीमति अन्दाजी वर्ष २४ की गीता देवान सेलिङलाई शुक्रबार प्रसुती गराउन ओयाम स्वास्थ्य चौकि तथा बर्थिङ सेन्टर ल्याइएको थियो । उनको आइबार साँझ निधन भएको हो । स्वास्थ्य चौकिका इन्चार्ज तेजबहादुर शाही एउटा अनमीको जिम्मामा स्वास्थ्य चौकि छाडेर व्यक्तिगत काममा अन्यत्रै गएको र आइबार दिउँसो मात्र कार्यालय आएकाले उपचार पाउन नसकि गीताको मृत्यु भएको आफन्तको आरोप छ ।
स्वास्थ्य चौकि आएपछि पनि इञ्चार्ज शाहीले वल गर्न नसकेको भन्दै बिरामीलाई दोष दिंदै आफू सँग पनि झर्किने व्यवहार देखाएको गीताका श्रीमान मनिषले बताए । बिरामीलाई गाह्रो हुन थालेपछि आइबार साँझ रेफर गरेर जिल्ला अस्पताल ल्याउने क्रममा गीताको मृत्यु भएको बताइएको छ । गीताको सवको पोष्टमार्डम हुन सकेको छैन भने सोमबार जिल्ला प्रशाशन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारी सहित गीताका आफन्तलाई समेत राखेर गरिएको सर्वदलीय छलफलबाट पनि कुनै निष्कर्ष निस्कन नसकेको बुझिएको छ । आफूहरुको माँग पूरा नभए कडा आन्दोलन गर्ने आफन्तले चेतावनी दिएका छन् । स्वास्थ्य चौकि इञ्चार्ज शाहीलाई भने प्रहरी सुरक्षामा राखिएको छ ।