पानवारी/शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र धरानका कर्मचारी आफूखुसी बिदामा बस्ने गरेपछि सेवाग्राही मर्कामा परेका छन् । केन्द्रका जनस्वास्थ्य अधिकृत रोशनकुमार यादव र कविराज हरिकिशोर राय आफूखुसी बिदामा बस्ने गरेका कारण सेवाग्राही मर्कामा परेका हुन् । धरान उमपहानगरपालिका मातहतमा रहेको शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रका कर्मचारीहरू बिदामा बसेको सम्बन्धमा कुनै जानकारी नभएको उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबाबु यादव तथा सामाजिक विकास महाशाखा प्रमुख गणेश खतिवडाले बताए ।

जनस्वास्थ्य अधिकृत रोशनकुमार यादव बिहीबारदेखि, कविराज हरिकिशोर राय आइतबारदेखि कार्यालयमा नभएपछि सेवाग्राही भने मारमा परेका छन् । यस विषयमा बुझ्दा यादवले रायसँग र रायले यादवसँग बिदा मागेको बताएका छन् । कर्मचारीको बिदा स्वीकृत धरान उपमहानगरपालिकाको सामाजिक विकास महाशाखाले गर्नु पर्ने भए पनि महाशाखा प्रमुख गणेशप्रसाद खतिवडाका अनुसार दुवैजनाले बिदा लिएका छैनन् । कविराज रायले भने स्वास्थ्य शाखा प्रमुख रामबाबु यादवलाई बिदा बस्छु भनेर मौखिक रूपमा जानकारी गराएको बताए । तर स्वास्थ्य शाखा प्रमुख यादवले बिदा बारे आफूलाई आधिकारिक रूपमा कुनै जानकारी नरहेको स्पष्ट पारेका छन् ।

केन्द्रले ओपिडी, एमसिएच, डट्सको सेवा दिइरहेको छ भने ल्याव समेत सञ्चालनमा हुने तयारीमा छ । शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा १४ जना कर्मचारी कार्यरत छन् । कार्यालय प्रमुखले गत साउनमा नै राजीनामा दिएर गएपछि निमित्त कार्यालय प्रमुखको समेत जिम्मेवारीमा रहेका यादव बिना जानकारी कार्यालय नआउने गरेका कारण सेवा प्रभावित हुने गरेको कार्यालयमा कार्यरत अन्य कर्मचारी बताउँछन् ।गतवर्षदेखि देशभरि स्थापना गरिएका शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमध्ये देशभरिकै सबैभन्दा छिटो सेवा शुरु गर्ने केन्द्रको हो धरान । केन्द्रमा दैनिक ३० देखि ५० जनासम्म सेवा लिन आउने गरेका छन् ।

धरानको १७, १८, २० लगायतका सेवाग्राहीलाई सहज रूपमा सेवा दिन सकियोस् भन्ने उद्देश्यले केन्द्र स्थापना गरिए पनि कर्मचारीका कारण प्रभावकारी ढङ्गले सेवा नपाएको गुनासो स्थानीयले गरेका छन् ।