पाँचथर/जिल्लाको याङ्वरक गाउँपालिका–३ ओयाममा चिकित्सकको लापरबाहीले प्रसूति गराउन ल्याइएकी महिलाको मृत्यु भएको भन्दै आफन्तले लापरबाही गर्ने चिकित्सकलाई कडा कारबाही र पीडित परिवारलाई उचित क्षतिपूर्तिको माग गरेका छन् ।
याङ्वरक गाउँपालिका–३ साम्माङ्खुका मनिष सेलिङको श्रीमती २४ वर्षीया गीता देवान सेलिङलाई शुक्रबार प्रसूति गराउन ओयाम स्वास्थ्य चौकी तथा बर्थिङ सेन्टर ल्याइएको थियो । उनको आइतबार साँझ निधन भएको हो । स्वास्थ्य चौकीका इञ्चार्ज तेजबहादुर शाही एउटा अनमीको जिम्मामा स्वास्थ्य चौकी छाडेर व्यक्तिगत काममा अन्यत्रै गएको र आइतबार दिउँसो मात्र कार्यालय आएकाले उपचार पाउन नसकी गीताको मृत्यु भएको आफन्तको आरोप छ । स्वास्थ्य चौकी आएपछि पनि इञ्चार्ज शाहीले बल गर्न नसकेको भन्दै बिरामीलाई दोष दिँदै आफूसँग पनि झर्किने व्यवहार देखाएको गीताका श्रीमान् मनिषले बताए । बिरामीलाई गाह्रो हुन थालेपछि आइतबार साँझ रेफर गरेर जिल्ला अस्पताल ल्याउने क्रममा गीताको मृत्यु भएको बताइएको छ ।
गीताको शवको पोष्टमार्टम हुन सकेको छैन भने सोमबार जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीसहित गीताका आफन्तलाई समेत राखेर गरिएको सर्वदलीय छलफलबाट पनि कुनै निष्कर्ष निस्कन सकेन । आफूहरूको माग पूरा नभए कडा आन्दोलन गर्ने आफन्तले चेतावनी दिएका छन् ।
स्वास्थ्य चौकी इञ्चार्ज शाहीलाई भने प्रहरी सुरक्षामा राखिएको छ ।