धनकुटा/श्रम ऐन कार्यान्वयन गर्न र न्यूनतम् पारिश्रमिक लागू गर्न माग राख्दै सोमबार दिनभर चिया उद्योगमा कार्यरत सयौं मजदुरले प्रदर्शन गरेका छन् ।
नेपाल चिया बगान श्रमिक सङ्घ, कृषि तथा बगानक्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घको अगुवाइमा त्यहाँ कार्यरत मजदुरहरूले प्रदर्शन गरेका हुन् । गुराँसे टि–स्टेट, जुन चियाबारी तथा नारायणी चिया उद्योगमा कालोझण्डा र ब्यानर टाँगेर उद्योगको मूलगेटमा कोणसभासमेत गरेका छन् । श्रम ऐन २०७४ कार्यान्वयनमा आउन नसकेको भन्दै आन्दोलन गरिएको अखिल नेपाल चिया मजदुर सङ्घका केन्द्रीय उपाध्यक्ष नारायण तामाङले बताए । सरकारले गत साउन १ गतेदेखि लागू हुने गरी चिया मदजुरको पारिश्रमिक बढाएर २ सय ४३ देखि बढाएर ३ सय ८५ कायम गरे पनि त्यसको कार्यान्वयन नगरिएको केन्द्रीय उपाध्यक्ष तामाङले बताएका छन् ।
नेपाल चिया बगान श्रमिक सङ्घ, कृषि तथा बगानक्षेत्र श्रमिक सङ्घ र अखिल नेपाल चिया मजदुर सङ्घले संयुक्त रूपमा विज्ञप्ति समेत जारी सरकारले निर्धारण गरेको चिया मजदुरको पारिश्रमिक यथाशक्य चाँडो कार्यान्वयन गर्न पनि माग गरिएको छ । जिल्लामा विभिन्न चिया उद्योग तथा बगानमा कार्यरत ६ सय ५० भन्दा बढी चिया मजदुर रहेका छन् ।