पाँचथर/ पाँचथर–इलाम सीमावर्ती राँके बजारमा आइतबार राति आगलागी भएको छ । आगलागीबाट दुई करोड दश लाख ५४ हजार रुपैयाँ बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय राँकेका इञ्चार्ज लीलाराज ढकालले बताए । बजारको इलामतर्फको देउमाई नगरपालिका–१ का ठालुराम श्रेष्ठको घरमा राति ८ः३० बजे आगो लागेको थियो । उक्त घरमा श्री विष्टले फेन्सी पसल र तिलबहादुर बस्नेतले किराना पसल सञ्चालन गर्दै आएका थिए । आगलागीमा परी दुवै पसल जलेका छन् भने छिमेकी नरबहादुर श्रेष्ठको घर पनि जलेको छ । ठालुरामको एक करोड र नरबहादुरको दश लाख बराबरको घर, श्री विष्टको ५० लाख बराबरको फेन्सी पसल, तिल बहादुर बस्नेतको ४५ लाख बराबरको किराना पसल, नगद दुई लाख ८० हजार, दुई लाख ५० हजार बराबरको सुन र २४ हजार बराबरको चाँदी जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय राँकेले जनाएको छ ।

आगो फिदिमबाट गएको दमकलले राति ११ बजे नियन्त्रणमा लिएको थियो । आगो नियन्त्रणको लागि इलामबाट हिँडेको दमकल भने बीच बाटोमै बिग्रिएर घटनास्थल नै पुग्न सकेन । आगो कसरी लाग्यो भन्ने खुल्न बाँकी रहेको बताइएको छ । चार वर्षअघि पनि राँके बजारमा आगलागी भएको थियो । त्यतिबेला १३ घर जलेका थिए ।