भद्रपुर । सङ्घीय सरकारका अर्थमन्त्री डाक्टर युवराज खतिवडाले विकासमा दलाली नगर्न सुझाएका छन् । भद्रपुर छोटी भन्सारलाइ भद्रपुर भन्सारको रुपमा स्तरोन्नति रहने गरी मङ्गलबार विधिवत उद्घाटन गर्दै यस्तो बताएका छन् । मन्त्री खतिवडाले विकासका नाममा मोलमोलाइ गरेर परिवर्तन नआउने उल्लेख गरे ।
गरिब जनताको लागि काम गर्न आएको उल्लेख गर्दै कसैको मन दुखाएर गरिएको विकास न्यायसङ्गत नहुने उनको धारणा थियो । सरकारमा रहुन्जेल कसैले औला नउठाउने गरी कामगर्ने भएकोले सबैको सल्लाह सुझाब लिने गरेको बताए । भन्सारको आवागमनमा भिडभाड हुने भएकोले भन्सार पूर्वाधार विस्तार गर्दै लैजाने उनको भनाइ थियो । भन्सारसँगै अन्य सरकारी कार्यालयहरु सडकमा परेकोले खाली गर्ने शुरुवाती चाडो गरिनु पर्ने सुझाव दिएका थिए । विगतमा भद्रपुरमा धानमिलको धूवाँ आउने गर्थो अहिले चियाको धूवाँ आइरहेको उनले बताए । चिया उद्योगीले राखेका समस्यको बारेमा छलफल गरिने उनले जनाए ।
सरकारले भाडामा दिएको चिया उद्योग भन्दा निजी उद्योग सन्तोषजनक रहेको उनले उल्लेख गरे । कञ्चनपुर देखि काँकडभिट्टासम्मको ६ लेनको सडक,काँकडभिट्टा बर्दिवास रेल–वे सेवा, विर्तामोड भद्रपुर सडकको अवस्था, तेस्रो मूलुकमा विजुली व्यापार लगायतको विषयमा गम्भिर छलफल भइरहको उनले जनाए । केही हप्ता अघि चीनको विषेशज्ञ टोलीसँगै नदीमा गरिएको अनुगमनपछि गुरुयोजनाका बारेमा छलफल गरिने उनको भनाइ छ ।
कार्यक्रममा राजस्व सचिव शिशिर ढुङ्गानाले भद्रपुर भन्सारलाइ जग्गा अभावका कारण तत्काल पूर्णरुपममा सञ्चालन गर्न नसकिने बताए । न्यून बिजकको विषयमा कर्मचारीमाथि लाग्दै आएको आरोपलाइ व्यवहारमा उत्तार्नु पर्ने जनाए । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल ,प्रदेश साँसद ओमप्रकाश सरावगी , भद्रपुर मेयर जीवनकुमार श्रेष्ठ,झापा उद्योग सङ्घका अध्यक्ष टिकाराज ढकाल र झापा उद्योग वाणिज्य सङ्घका अध्यक्ष नवराज पनेरुले आ–आफ्ना धारणा राखेका थिए ।