पानवारी । धरान उपमहानगरपालिकाले कर वृद्धि गरेको विरोधमा आन्दोलनरत संयुक्त संघर्ष समिति र धरान उपमहानगरपालिकाबीच मंगलबार भएको वार्ताबाट सुझाव कार्यदल गठन भएको छ । कार्यदलले करका सम्बन्धमा विस्तृत अध्यन गरी १० दिन भित्र प्रतिवेदन तयार गर्ने सहमती भएको छ । कार्यदलमा संयुक्त संघर्ष समितिको तर्फबाट कर विज्ञको रुपमा प्रा.डा. अशोककुमार झा, नेपाली कांग्रेसका नगर सचिव श्याम पोखरेल, अनिल श्रेष्ठ र सञ्जुहाङ सावाँ रहेका छन् भने धरान उपमहानगरपालिकाको तर्फबाट प्रवत्ता तथा २० नं. वडाध्यक्ष मणिराम राई, १५ नं. वडाध्यक्ष नरेश इवारम, १७ नं. वडाध्यक्ष मनोज भट्टराई र आवश्यकता अनुसार विज्ञको रुपमा एकजना सदस्य रहने गरी ८ सदस्यीय कार्यदल गठन भएको छ । कार्यदलको पहिलो बैठक भने भाद्र २१ गते दिउँसो २ बजे धरान उपमहानगरपालिकामा बस्ने निर्णय भएको छ । कार्यदलको प्रतिवेदन नआउन्जेलसम्म नेपाली कांग्रेसले आन्दोलनका सम्पूर्ण कार्यक्रम स्थगित गरेको नगर सभापति तिलक राईले बताए ।

धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाले सुझाव कार्यदलले टेबल गरेर प्रतिवेदन तयार गरेपछि थप छलफल हुने बताए । करवृद्धि फिर्ताको माग राख्दै भाद्र २ गतेदेखि आन्दोलनरत नेपाली कांग्रेसले १० दिने अल्टिमेटम दिएको थियो । १० दिने अल्टिमेटमको समय १३ गते नै सकिए पनि कार्यवाहक मेयर मञ्जु भण्डारी कार्य व्यस्तताले गर्दा धरान बाहिर गएपछि कांग्रेसले थप आन्दोलनको कार्यक्रम गरेको थिएन । तर कार्यवाहक मेयर धरान आएपछि पनि आफ्ना मागहरुमा गम्भिर नभएको भन्दै नेपाली कांग्रेस आन्दोलित भएको थियो । धरान उपमहानगरपालिकाले वार्ताका लागी आह्वान गरेपछि कांग्रेसले मंगलबार धरान उपमहानगरपालिकाको मुल गेटमा तालाबन्दी गर्ने कार्यक्रम समेत स्थगित गरेको थियो ।