बेलबारी । नेकपा एमाले र माओवादी केन्द्र बीचको पार्टी समायोजन प्रक्रिया केराबारी गाउँपालिकामा भने सर्वसम्मत रुपमा टुंगिएको छ । नेकपाको जिल्ला तहका पार्टी प्रतिनिधिहरुको उपस्थितिमा पार्टी समायोजन प्रक्रिया टुंगिएको हो ।
केराबारी गाउँपालिका स्तरका नेतृत्वको दुई दिनसम्म चलेको बैठकले नेतृत्वको छिनोफानो गरेको हो । एमालेले अध्यक्ष र माओवादी केन्द्रले सचिव पद बाँडफाड गरेका हुन् । अब बन्ने नेकपाको गाउँपालिका अध्यक्ष नेकपाका जिल्ला सदस्य टेकबहादुर लिम्बुलाई जिम्मेवारी दिईएको बुझिएको छ । याङशिला निवासी लिम्बू नेकपा एमालेमा लामो समय देखि क्रियाशील छन् । त्यसैगरी सचिव पदमा माओवादी केन्द्रका तर्फबाट खड्ग लुईटेल सर्वसम्मत चयन भएका छन् । लुईटेल पेशाले मेडिकल संचालक पनि हुन् ।
उनी पनि माओवादी केन्द्रमा लामो समयदेखि नेतृत्व तहमा रहेर पार्टीको जिम्मेवारी सम्हाल्दै आएका छन् । पार्टी नेतृत्वको नामावली जिल्ला पार्टी कार्यालयमा सिफारिसका लागि पठाईएको बुझिएको छ । त्यसैगरी गाउँपालिकामा रहने ७५ सदस्यीय पदमा भने नेकपा एमालले ४० वटा सदस्य पद र माओवादी केन्द्रले ३५ वटा सदस्य पदको बाँडफाड गर्ने सहमति गरेका छन् । त्यसैगरी पार्टीको १० वटा वडाहरु मध्य माओवादी केन्द्र २ वटा वडाहरु वडा नं. ९ र वडा नं. ८ लिने सहमति भएको बुझिएको छ ।