पानवारी । शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र धरानका कर्मचारी आफुखुसी विदामा बस्ने गरको पाएपछि धरान उपमहानगरपालिकाले कर्मचारीलाई स्पष्टिकरण सोधेको छ । धरान उपमहानगरपालिका मातहतमा रहेको धरान–१७ स्थित शहरी स्वास्थ्य प्रबद्र्धन केन्दका जनस्वास्थ्य अधिकृत रोशनकुमार यादव र कविराज हरिकिशोर राय आफुखुसी विदामा बसेको समाचार ब्लाष्ट टाइम्स दैनिकमा प्रकाशित भएपछि उनीहरुलाई २४ घण्टा भित्र लिखित जवाफ पेश गर्न धरान उपमहानगरपालिकाले स्पष्टिकरण सोधेको छ । धरान उपमहानगरपालिकाका बरिष्ठ प्रशासकिय अधिकृत खगेन्द्र खतिवडाका अनुसार केन्द्रका कर्मचारीलाई चित्तबुझ्दो लिखित स्पष्टिकरण २४ घण्टा भित्र पेश गर्न भनिएको छ । केन्द्रका कर्मचारीहरु यादव र राय कार्यालयमा कसैलाई जानकारी नदिइ बिदा बस्ने गरेपछि सेवाग्राही मारमा पर्दै आएका थिए । शहरी स्वास्थ्य प्रबद्र्धन केन्द्रमा १४ जना कर्मचारी कार्यरत छन् । कार्यालय प्रमुखले गत साउनमा नै राजीनामा दिएर गएपछि निमित्त कार्यालय प्रमुखको समेत जिम्मेवारीमा रहेका यादव बिना जानकारी कार्यालय नआउने गरेका कारण सेवा प्रभावित हुने गरेको कार्यालयमा कार्यरत अन्य कर्मचारीले नै गुनासो गरेका छन् । धरानको १७, १८, २० लगायतका सेवाग्राहीलाई सहज रुपमा सेवा दिन सकियोस् भन्ने उदेश्यले केन्द्र स्थापना गरिएपनि कर्मचारीका कारण प्रभावकारी ढंगले सेवा नपाएको गुनासो स्थानीयले गरेका छन् । गतवर्षदेखि देशभरी स्थापना गरिएका सहरी स्वास्थ्य प्रबद्र्धन केन्द्र मध्ये देशभरी कै सबैभन्दा छिटो सेवा सुरु गर्ने केन्द्रको हो धरान । केन्द्रमा सेवा लिन दैनिक रुपमा ३० देखि ५० जनासम्म सेवा लिन आउने गरेका छन् ।