मोरङ लेटाङकी हातमा क्यान्सरको समस्याबाट पीडित बालिका मनिषा लिम्बूको उपचारका लागि दाताहरूबाट २० लाख बढी रकम सङ्कलन भएको छ ।
पछिल्लो पटक १० लाखको हाराहारीमा एकमुष्ठ रकम परिवारलाई हस्तान्तरण गरिएको छ । जसअन्तर्गत शनिबार लायन्स क्लब लेटाङको अगुवाइमा सङ्कलन भएको ६ लाख बढी रकम सहयोग हस्तान्तरण भएको छ । लेटाङ–९ जाँते बाह्रकोठेकी १० वर्षिया मनिषा उपचारमा समस्या भएपछि लायन्स क्लब तथा विभिन्न सङ्घ संस्था र विदेशबाट प्राप्त ६ लाख २ हजार ६ सय ३२ रुपैयाँ सहयोग रकम मनिषालाई हस्तान्तरण गरिएको कार्यक्रम संयोजक शान्ति पाख्रिनले जनाइन् ।
पाख्रिनको अगुवाइमा बजारमा सेलरोटी समेत बेचेर सहयोग सङ्कलन गरिएको थियो । ‘लेटाङ प्रिन्सेस’ २०१८ की विजेता सुजता खतिवडासमेतलाई सहभागी गराई शान्तिले बजार बजारमा सेलरोटी बेच्ने अभियान चलाएकी थिइन् । यसैबीच, सो रकम सार्वजनिक भएपछि डाइनामिक मोरङ कमिटी दक्षिण कोरियाले १ लाख ४१ हजार ४ सय रुपैयाँ सहयोग प्रदान गरेको संस्थापक अध्यक्ष टङ्क बानियाँले बताए । कोरियाबाट युवाहरूले पठाएको २ लाख रुपैयाँ पनि हस्तान्तरण भएको छ । सो कार्यक्रममा १० लाख हाराहारी रकम हस्तान्तरण भएको पाख्रिनले उल्लेख गरिन् । उनले हालसम्म २० लाख बढी रकम सहयोग सङ्कलन भएको पीडितका बुबा हर्कवीरले बताए ।
समस्या भएको हात काटियो
सहयोग रकम सङ्कलन हुँदै गएपछि उनको देब्रे हातको हड्डीमा भएको क्यान्सरको उपचारका क्रममा कुममै हात काटिएको छ । हात काटिएको अवस्थामा उनी आफूलाई प्राप्त सहयोग हस्तान्तरण समारोहमा सहभागी थिइन् ।
शरीरमा सर्न नदिन भरतपुर क्यान्सर अस्पतालले हात काटेर उपचार गरेको हो । किमो २ पटक गरिएको र अब ४ पटकका लागि ५ लाख रकम लाग्ने छ ।
मनिषाको उपचारका लागि २० लाख हाराहारीमा खर्च लाग्ने भएपछि परिवार समस्यामा परेको खबर पाएपछि सहयोगी सहयोग जुटाउन लागेका थिए । हर्कवीर रोजगारीका लागि खाडी मुलुकमा छन् भने यता उनको परिवार ज्याला मजदुरी गरेर छोराछोरीको लालनपालनमा छन् । ५ कक्षा पढ्दै गरेकी मनिषालाई भरतपुर क्यान्सर अस्पताल चितवनमा २ पटक किमोथेरापी गराइएको छ । हात काटिएपछि तेस्रो किमो दिनका लागि उनलाई यसबेला भरतपुर अस्पताल लगिएको छ । जम्मा ६ वटा किमो दिनुपर्ने डाक्टरले बताएका छन् ।