उर्लाबारी । सोमबार उर्लाबारीमा निर्माणकर्मीले बाबा विश्वकर्मा पूजा भव्यताका साथ मनाएका छन् । स्वतन्त्र निर्माण व्यवसायी मजदुर सङ्घ उर्लाबारीको आयोजनामा भएको सो कार्यक्रममा निर्माणलगायतका अन्य मजदुरहरूले पूजापाठ तथा सांस्कृतिक कार्यक्रम गरी पूजा मनाएका हुन् । सङ्घका अध्यक्ष मनोज लुइँटेलको अध्यक्षता तथा उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिसमेत रहेका फागोले निर्माण मजदुरको हकहितका लागि नगरमा बजेट विनियोजन भएको बताउँदै सङ्घमार्फत प्रत्येक मजदुरको दुर्घटना बिमा अनिवार्य गर्न सुझाव दिएका छन् । सो कार्यका लागि नगरले बजेट विनियोजन गरेको समेत बताएका छन् । कार्यक्रममा उर्लाबारी उद्योग वाणिज्य सङ्घका अध्यक्ष प्रितम खड्गी, वाणिज्य उपाध्यक्ष शेरबहादुर भण्डारी, कोषाध्यक्ष सुनिल बोहोरा, नेपाल रेडक्रस सोसाइटी उर्लाबारीका सभापति मदनबाबु प्रसाईंलगायतका अतिथि वक्ताले विश्वकर्मा पूजाको महत्व तथा निर्माण मजदुरहरूको हकहितका पक्षमा कार्य गर्न सुझाव दिएका थिए । मङ्गलबारसम्म हुने सो पूजामा जिल्ला भरीका मजदुरहरू सहभागी हुने आयोजक संस्थाकिो भनाइ छ । दर्शकहरूका लागि नृत्य, हास्य व्यङ्ग्यलगायतका कार्यक्रम आयोजना गरिएको थियो ।