उर्लाबारी । लामो पर्खाइपछि विश्वकर्मा पूजाको अवसर पारी उर्लाबारीमा पहिलो पटक रक्तसञ्चार सेवा (ब्लड बैङ्क) शुरू भएको छ । गत साउनको पहिलो साता नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सञ्जीव थापाले सेवाको उद्घाटन गरे पनि आवश्यक पूर्वाधारको तयारी पूरा नभएकाले झण्डै दुई महिनापछि मात्र सोमबारदेखि सेवा शुरू भएको हो । नेपाल रेडक्रस सोसाइटी उर्लाबारी उपशाखामा जिल्ला शाखाको प्राविधिक सहयोगमा शुरू भएको सो सेवाले पूर्वोत्तर मोरङका सेवाग्राही लाभान्वित हुने अपेक्षा गरिएको छ । सो सेवा सञ्चालनका लागि उर्लाबारी नगरपालिका, श्रीसगरमाथा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, पवित्र बचत तथा ऋण सहकारी संस्था लिमिटेडलगायतका संस्थाहरूले सहयोग पु¥याएका छन् । उपशाखाले सामाजिक सेवा पु¥याउने उद्देश्य र स्थानीय हस्पिटलमा उपचार गराउँदा एक पोका रगत लिन बाहिर जानुपर्ने बिरामीको बाध्यतालाई निर्मूल पार्न ब्लड बैङ्क सञ्चालन गरिएको सभापति मदनबाबु प्रसाईंले बताए । नगरको ब्लड बैङ्क सञ्चालनले टाढा गएर स्वास्थ्य उपचार गराउन नसक्नेका लागि सञ्जीवनी भएकोे उर्लाबारी नगरपालिकाका मेयर खड्ग फागोले बताए । उनले मानवीय तथा स्वास्थ्य क्षेत्रको विकासमा नगरको प्रतिष्ठासमेत जोडिएको बताए ।