पथरी/ स्थानीय सरकारहरु कर निर्धारण विषयमा आलोचित बनिरहेको बेला मोरङ कानेपोखरी गाउँपालिकाले भने उठेको करले जनताको घर बनाई दिने भएको छ । गाउँपालिकाको ‘खरको छाँना विस्थापित’ योजना अन्तर्गत गाउँपालिकाले वडा नम्बर ६, को नर्सरी डाँडाबाट खरको छाँना हटाउँने अभियान सुरु गरेको हो । सोमबार स्थलगत अनुमन गरी ६७ वर्षिय कामराम धिमाल र ७१ वर्षिय पाइजो धिमालको घर बन्ने भएको छ । गाउँपालिकाको घर अभिलेखन कार्यक्रमबाट संकलित रकमले दलित,पिछडा वर्ग, जनजाति आदिवासी, अपाङ्गता,असक्तहरुको घर बनाईदिने अभियान रहेको कानेपोखरी गाउँपालिकाका अध्यक्ष ताराबहादुर काफ्लेले बताए । जग्गाको नाममा जम्मा एक कठ्ठा जग्गा भएको कामराम धिमाल श्रीमती खाम्जिय र अपाङ्गता भएकी छोरीसँग फुस्को घरमा बस्दै आएको थिए । बाँसको कर्चीको टाटी लगाएको बार र परालले छाएको होचो घरलाई अहिले गाउँपालिकाले टिनको छाँनो, बाँस खिपेको टाटी लगाई दिए पछि उनिहरु सु:खी छन् । पेशाले उनीहरु दाउरा बेचेर जीविको चलाउँदै आएका छन् । त्यसैगरी सोही ठाउँको ७० वर्षिय पाइजो धिमालको पनि जम्मा एक कट्ठा जग्गा छ । उनि ७० वर्षिय श्रीमती पोतिका धिमालसँग दुई जना मात्र घरमा बस्दै आएका छन् । वृद्धवृद्धा आयश्रोत छैन, उनिहरु सकि नसकि घरेलु रक्सी उत्पादन गर्दै विक्रि वितरण गरी जिविका चलाउँदै आएका छन् । छोरीहरु विहे गरेर गए, छोराहरु छुट्टीएर अन्तै बस्दै आएकोले दाम्पती मात्र बस्दै आएकाे उनिहरु सुनाउँछन् । आकासको तारा देखिने खरको छाँनो अहिले गाउँपालिकाले टिनको छाँनो लगाईदिएपछि उनिहरु दंग छन् । यस्तो हामी जस्ता दुखीहरुको दुःखसुखमा गाउँपालिकाले सहयोग गरिरहनु पर्ने उनिहरु बताउँछन् ।

उनिहरुको दुःख त्यति मात्र होइनन् । उनिहरुसँग नागरिकता पनि छैन । श्रीमानको नागरिकता भएपनि दुवै जनाको श्रीमतीको नागरिकता छैन । श्रीमानको नागरिकता भएपनि उमेर भन्दा ५, ७ वर्ष कम उमेर बनाई नागरिकता पहिले बनाएकोले उनिहरुले सामाजिक सुरक्षा भक्ता पाउनबाट बञ्चित भएका छन् । श्रीमतीहरुको पनि उमेर नागरिकता पाए सामाजिक सुरक्षा भक्ता पाउँने छन् । सामाजिक सुरक्षा भक्ता पाए उनिहरुको गुजरा राम्रो चल्ने देवसिंङ धिमाल बताउँछन् । यस विषयमा वडा नम्बर-६ का वडाध्यक्ष खड्ग बस्नेतले उनिहरुको नागरिकता जसरी भएपनि दिलाउने प्रतिवद्धता व्यक्त गरेका थिए ।

गाउँपालिकाको ‘खरको छाँना विस्थापित’ योजना प्रत्येक वडामा वर्ष भरी सञ्चालन हुने कानेपोखरी गाउँपालिकाका प्रवक्ता तथा वडा नम्बर-२ का वडाध्यक्ष सुशिल बुढाथोकीले बताए ।