भद्रपुर/गएराती चार ओटा जङ्गली हात्तीले भद्रपुरका विभिन्न बस्तीहरुमा क्षति पुर्याएको छ । चन्द्रगढी उत्तरबाट दक्षिण तर्फ छिरेका हात्तीले घर टहरा भत्काउनुका साथै अन्नबाली नष्ट गरेको डिभिजन वन कार्यालय झापाले जनाएको छ । चन्द्रगढी सामुदायिक वनबाट निस्किएका हात्तीले सोमबार मध्यरातमा भद्रपुर– ७ का बीर बहादुर घिमिरेको टाटीबेराको घर भत्काएको छ भने अन्दाजी पाँच मन मकै,धान पन्ध्र मन र २ मन चामल नष्ट गरेको पीडित परिवारले जनाएका छन् । त्यस्तै टिका प्रसाद लम्सालले र नारायण आचार्यको पसाउन लागेको अन्दाजी २ कठ्ठाको धानखेत नष्ट गरेको विन्दा लम्सालले जनाइन् । लम्साललको घर तथा केराघारीमा समेत सामान्य क्षति पुगेको छ । समूहमा आएका हात्तीले मीत्र प्रसाद फुयालको अन्दाजी पाँच मन मकै र घुम्ती,मीरा नेपालको घुम्ती,नरबहादुर लिम्बूको टाटी घरमा क्षति पुर्याएको डिभिजन वनकार्यालयका सुरक्षा गस्ती रामनाथ यादवले जानकारी दिए । समूहमा आएका हात्तीमा दुइओटा भेलागडी वन र बाँकी उत्तर तर्फ लागेको यादवले जानकारी दिए । दैनिक आएका हात्तीले नोक्सान पुर्याउन थालेपछि ज्यान जोगाउन मुस्किल भएको पीडित विन्दाले जनाइन् । पसाउन लागेको धान नष्ट गरेकोले जिबीका जलाउन समस्या भएको उनले बताइन् ।

जङ्गली हात्तीले पुर्याएको क्षति सङ्कलन गरेर पीडितले दिएको निवेदको आधारमा डिभिजन वनमा सिफारिस पठाइएको वडा नम्बर ७ का अध्यक्ष विनोद कुमार पोखरेलले जनाए । दैनिक हात्तीको उपद्रो हुने गरेकोले सबैलार्इ सचेत रहन समेत उनले अनुरोध गरेका छन् ।  वर्षौदेखि झापाको उत्तरी क्षेत्र बाहुनडाँगीमा भारतबाट आएका हात्तीले तहसनहस पारिरहेको थियो । तर दुइ वर्ष यता दक्षिण क्षेत्र चन्द्रगढी,भद्रपुर, पृथ्वीनगर लगायतका स्थानहरुमा क्षति पुर्याउदै आएको छ । पाँच वर्षको अवधिमा ३५ जनाको हात्तीका कारण ज्यान गइसकेको छ । नौओटा हात्ती मरेका छन् भने राहत स्वरुप करोडौँ रकम खर्च हुदै आएको छ । हात्तीलाइ सहज वातावरणका लागि हात्ती करिडोर निर्माणमा ८ करोड बजेट आएपनि सदुपयोग भएको छैन ।