भद्रपुर/गएराती वडा प्रहरी कार्यालय भद्रपुरले एक लाख मूल्य भन्दा बढीको कपडा बरामद गरेको छ ।
भारतबाट भन्सार छलेर अवैध बाटो हुदै नेपाल ल्याउदै गरेको एक पोकामा चार सय मिटर रहेको १९ रोल सटिङ–सुटिङको कपडा बरामद गरिएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । विशेष सूचनाको आधारमा गएको प्रहरी गस्ती टोलीले भद्रपुर–५ गणेश मन्दीर नजिकैबाट सोमबार राती साढे १० बजे सामान बरामद गरिएको वडाका इन्सपेक्टर प्रकाश जबेगूले जानकारी दिए । बरामद सामग्रीको अनुमानित मूल्य १ लाख ११ हजार २ सय रुपैयाँ कायम गरी भन्सार पठाइएको जबेगूले जनाए । त्यसैगरी सामान बरामद भएकै क्षेत्रमा रोकिराखिएको मे.१ ह ३७७४ नम्बरको अटो रिक्सा(टेम्पो)सहित भद्रपुर– ८ का ३५ वर्षिय छविलाल राजवंशीलाइ नियन्त्रणमा लिएको जबेगूले बताए । समान ओसार – पसारमा संलग्न भएको आशङ्कामा मानिससहित सवारी साधन नियन्त्रणमा लिइएको उनको भनाइ छ । उनिमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।