बिर्तामोड/ झापामा मंगलबार दुर्घटना न्यूनीकरण अभियान २०७५ सञ्चालन भएको छ । वीरता जेसीज र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको आयोजनामा दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउन अभियान अन्तर्गत विभिन्न कार्य सम्पन्न भएका छन् । पूर्व–पश्चिम राजमार्गका लागि बिर्तामोडमा र मेची राजमार्गका लागि चारआलीमा एकसाथ उक्त अभियान सञ्चालन गरिएको हो । चारआलीका लागि वीरता जेसीज र ट्राफिक प्रहरीसँगै स्थानीय आयोजकको भूमिका नविन युवा क्लबले निर्वाह गरेको थियो । महाअभियानमा जिल्लाका ५० बढी सक्रिय सामाजिक संस्थाले सहभागिता जनाएका थिए । महाअभियानमा सवारी साधनका चालकलाई खादा र अविर पहिर्याएर सम्मान गर्दै चकलेट प्रदान गरिएको थियो । त्यसक्रममा सबै चालकलाई ‘आजका दिनसम्म राम्रोसँग गाडी चलाउनुभएकोमा धन्यवाद छ । अबका दिनमा अझ जिम्मेवारीपूर्वक गाडी चलाएर दुर्घटना न्यूनीकरणमा टेवा पुर्याउनु हुन अनुरोध छ’ –भनी सम्मान सहित सकारात्मक प्रेरणा दिइएको थियो ।
त्यस्तै, चेतनामुलक विभिन्न नारा लेखिएका स्टीकर टास्नुका साथै ५० हजार पर्चा वितरण गरिएको थियो । महाअभियान अन्तर्गत नै दुर्घटना न्यूनीकरणका लागि चेतनामुलक सडक कविता प्रतियोगिता समेत सम्पन्न भएको छ । यता चारआलीबाट ताप्लेजुङ जाने आउने तथा स्थानीय रुटका गाडीका चालकलाई चारआलीमा सम्मान गरिएको अभियानमा सहभागि गोपाल अधिकारीले बताए । सडक कविता प्रतियोगितामा विवेक निशानी प्रथम, भिजन गुरागाई द्वितीय तथा प्रकृति शर्मा र गृष्मावेश प्रसाईं तृतीय भएका थिए । ३२ जनाले सहभागिता जनाएको कविता प्रतियोगितामा उत्कृष्टलाई नगद पुरस्कार तथा प्रमाणपत्र र सहभागिलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।