धरान । धरानका कवि बद्री पलिखेको ६६ वर्षको अल्पायुमै मङ्गलबार निधन भएको छ । उनको मुटुमा पानी जमेका कारणले मङ्गलबार बिहान मोरङको विराटनगरस्थित नोबेल मेडिकल अस्पतालमा निधन भएको हो । २००९ जेठ ३१ गते जन्मिएका उनी चार दिनअघि सामान्य रुघाखोकीबाट ग्रसित थिए । निरन्तर खोकी आइरहेपछि उनलाई बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको परिवारले जनाएको छ । त्यहाँ चेकजाँचका क्रममा मुटुमा पानी जमेको भेटिएपछि आइसियुमा राखी उपचार गर्नुपर्ने देखिएपछि आइसियु खाली नभएका कारण नोबेल लगिएको परिवारका सदस्य सुवर्णमोहन पलिखेले बताए । ‘बिहानसम्म बोल्दै हुनुहुन्थ्यो । एक्कासि साढे ८ बजेतिर बित्नुभएछ’ उनले भने, ‘पानी जमेका कारण निमोनिया भएको चिकित्सकको भनाइ थियो ।’ उनको ५ वर्षअघि मुटुको शल्यक्रिया गरिएको थियो । पलिखे तीनदशकदेखि साहित्य साधानारत थिए । उनका मुक्तक सङ्ग्रह, कविता सङ्ग्रह, प्रतिभा परिचय, लघुकथा सङ्ग्रह, संस्मरण र अनुभूतिहरू, कृति र दृष्टिलगायतका एक दर्जन जति पुस्तक प्रकाशित छन् । त्यस्तै राष्ट्रिय शिक्षा पुरस्कार–२०३७ बाट सम्मानित उनले पछिल्लो समय अच्छा राई रसिक स्मृति पुरस्कारबाट पुरस्कृत भएका थिए । उनले मुक्तक, कविता, लघुकथा, संस्मरणसँगै समालोचनाको क्षेत्रमा पनि कलम चलाएको देखिन्छ । उनी मोती संस्करण समितिका पूर्वअध्यक्षसमेत हुन् । धरान–९ पुतली बजार निवासी उनका ३ छोरी र एक श्रीमती छन् । उनको हिन्दु परम्पराअनुसार मङ्गलबारै अन्त्येष्ठी गरिएको परिवारले बताएको छ ।