धरान । धरान उपमहानगरपालिकाले धरानभित्र आयातित हुने सब्जी र कुखुराजन्य वस्तुमा विषादीको अवशेष जाँच गर्ने भएको छ । फोरम फर हेल्थ रिसर्च एण्ड डेभलपमेन्टको सहकार्यमा उपमहानगरले धरान भित्रिने सागसब्जी, फलफूल, ब्रोइलर कुखुराको मासुमा विषादीको अवस्था परीक्षण गर्ने भएको हो । धरानलाई अर्गानिक सिटी बनाउने योजनाअनुरूप यो कार्यक्रम लागू गर्न लागिएको कार्यवाहक मेयर मञ्जु भण्डारी सुवेदीले बताइन् । विषादीरहित बनाउने योजनामा नगर रहेको बताइन् । नगरपालिकाले संस्थासँग सहकार्य गरेर नयाँ कार्यको थालनी गरेको संस्थाका अध्यक्ष प्रिन्स सुब्बाले बताए । कीटनाशक औषधि मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रहेकाले जाँच आवश्यक रहेको बायोकेमिष्ट तथा केन्द्रीय प्रविधि क्याम्पस हात्तीसारका प्राध्यापक मनकुमार तामाङले बताए । उनका अनुसार यस्ता औषधिले प्रजनन्, चिनी रोग, अल्जाइमर, क्यान्सर तथा मृगौलाको रोगहरू निम्त्याउँछ । असोजको पहिलो साताबाटै नमूना सङ्कलन थालिने भएको छ ।