धनकुटा/ संविधान दिवसको अवसरमा धनकुटामा विभिन्न कार्यक्रमको आयोजना गरी मंगलवार देखी मनाउन थालिएको छ । सो अवसरमा धनकुटा नगरपालिकाको आयोजनामा वृहत सरसफाई तथा वृक्षारोपण कार्यक्रम गरिएको छ ।
धनकुटा बसपार्कमा नवनिर्मित फूलबारी तथा धनकुटा–७ स्थित रमाइलो घुम्तीमा वृक्षारोपण गरिएको थियो । जिल्ला समन्वय समितिका प्रमुख टंकबहादुर चुहान, प्रमुख जिल्ला अधिकारी सीताराम कार्की, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकादत्त राई लगायत जनप्रतिनिधिहरु, सरकारी तथा गैरसरकारी निकायका प्रमुख, सञ्चारकर्मी लगायतले वृक्षारोपण गरेका थिए ।
वृक्षरोपणमा सहभागीले स्वामी, एभोकाडो लगायतका विरुवा रोपिएका थिए । यसैगरी नेपाल प्रहरी तथा शसस्त्र प्रहरी लगायत नगरबासीले बजारका विभिन्न स्थानमा सामुहिक रुपमा बढारेर पनि सरसफाई गरेका छन् । पछिल्लो समय जिल्लाका विभिन्न स्थानमा साडे पाँच हजार भन्दा बढि विभिन्न प्रजातीका विरुवा रोपिएको धनकुटा नगरपालिकाको वातावरण शाखा प्रमुख उपेन्द्र खनालले बताएका छन् ।
उनले नगरका विभिन्न दर्जनौं स्थानमा आकर्षक फूलबारी निर्माण भइरहेको पनि जानकारी दिएका छन् । यसैगरी संविधान दिवस मंगलबारदेखि नै तीन दिन भोली विहिवारसम्म वृहत रुपमा मनाउने जिल्ला समन्वय समिति धनकुटाका जिल्ला समन्वय अधिकारी तीर्थप्रसाद धितालले बताएका छन् ।